लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, नेपाली सेनाका उपरथी ढकाल घाइते 


२०८१ फाल्गुण ३ शनिबार १०:१५ बजे

काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तर्गत लेबनानमा खटिएका नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् । लेबनानको राजधानी बेरुत नजिक संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसन (युनिफिल) का  डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारी-भिडले रोकी तोडफोड गर्दा उनी घाइते भएका हुन् ।  

उपरथी ढकाल घाइते भएको र उपचार भइरहेको नेपाली सेनाले जनाएको छ ।  ‘घटना पश्चात उहाँलाई तत्कालै उद्धार गरी युएन लेभल–३ अस्पताल बेरुत पुर्‍याइएको थियो । अस्पतालले हाल उहाँ खतरामुक्त रहेको जनाएको छ । डेपुटी फोर्स कमाण्डर, आफ्नो कार्यकाल पुरा गरेर स्वदेश फर्कने क्रममा रहेका थिए’, नेपाली सेनाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  उपरथी ढकाल बेरुत विमानस्थल जाने क्रममा सो आक्रमण भएको हो । 

घटनाको सम्बन्धमा मिसन हेडक्वार्टरले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिक माथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ । शान्ति सैनिक माथि भएको यस किसिमको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घले लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ ।

घटनाको भत्र्सना गर्दै लेबनानका प्रधानमन्त्री नवाफ सलमान र लेबनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति-समूहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । इरानबाट आएको एउटा यात्रु विमानलाई बेरुत जाने अनुमति रद्द गर्ने सरकारी अधिकारीहरुको निर्णयविरुद्ध अहिले त्यहाँ विरोध प्रदर्शन चलिरहेको समाचार संस्था एपीले जनाएको छ । त्यसको विरोधमा विमानस्थल जाने मार्गसँगै राजधानी र अन्य सडकहरु अबरुद्ध पारिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७