टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा आज टिपरले ठक्कर दिँदा स्कुटरमा सवार आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।
खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ग १ क ५८९६ नम्बरको टिपरले ग १८ प ७७५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका–३२ लेखनाथकी ४१ वर्षीया अप्सरा क्षेत्रीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । दुर्घटनामा स्कुटर चालक दीपेशकुमार क्षेत्री घाइते भएका छन् । उनी मृतक अप्सराका छोरा हुन् ।
उनको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । टिपरले प्रदेश ०१–०२२ च ६७७८ नम्बरको कारलाई समेत ठक्कर दिएको छ । घटनापश्चात् फरार रहेका टिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।