कांग्रेसले देशको नेतृत्व लिने सम्भावना छ : देउवा


२२:५४ बजे
फाइल फोटो

पोखरा । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक भएर अगाडि बढेको खण्डमा कांग्रेसले देशको नेतृत्व लिने सम्भावना रहेको बताएका छन् । पोखरामा आज (आइतबार) कांग्रेसको पोखरा महानगर समितिको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले जित वा हारलाई स्वाभाविक रुपमा लिन कार्यकर्तालाई आग्रह गरे ।

‘यो पार्टी राष्ट्रका लागि, प्रजातन्त्रका लागि, मानवीय मूल्यका लागि, राष्ट्रियता मजबुत गर्नका लागि चलिरहेको पार्टी हो । यो पार्टीको धेरै ठूलो योगदान छ । जिम्मेवारी पनि छ,’ उनले भने, ‘यहाँका साथीहरुलाई पनि अनुरोध गर्न चाहन्छु । कहिलेकाहीँ जित–हार होला, हार्दैमा पनि पार्टी कमजोर हुने कुरा छैन । जित्दैमा पनि धरै उत्ताउलो हुने कुरा छैन ।’  

पोखरा अत्यन्तै सुन्दर र पर्यटकीय दृष्टिले महत्वपूर्ण ठाउँ रहेको बताउँदै उनले माछापुच्छ्रेमा कालो देखिएकामा चिन्ता व्यक्त गरे । ‘म विद्यार्थी राजनीतिमा हुँदा यहाँ जेलमा पनि थुनेको थियो केही दिन, त्यहाँबाट माछापुच्छ्रे कस्तो राम्रो देखिन्थ्यो । सारा हिउँले ढाकिएको, अहिले हिउँ पनि पहिले जस्तो छैन,’ उनले भने, ‘हिउँ पनि पग्लिसक्यो, सुकिसक्यो । यहाँ हिउँ टिक्नै सक्दैन, त्यस्तो अवस्था छ ।’

प्रदूषणको समस्या विश्वव्यापी हुन सक्ने भए पनि पर्यावरण जोगाउन यहाँबाट पनि काम सुरु गर्न सकिने उनले बताए । उनले भने, ‘यो अत्यन्तै सुन्दर ठाउँ, राम्रो ठाउँ, महत्त्वपूर्ण ठाउँलाई अझैं सुन्दर, महत्त्वपूर्ण बनाउन सकिन्छ । यस काममा नेपाली कांग्रेसले नै नेतृत्व लिएर अगाडि बढाउनु पर्छ ।’

सम्मेलनमा कांग्रेस सह–महामन्त्री जीवन परियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि कांग्रेसले पहलकदमी लिनुपर्ने बताए । उनले माछापुच्छ्रे हिउँविहीन भएको अवस्थाका बारेमा अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्ने उल्लेख गरे । पोखराका नौवटै तालको संरक्षणका लागि कांग्रेसको महानगर समितिले गुरुयोजना बनाएर पूर्वाधार खडा गर्न सक्ने उनको भनाइ थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७