तीन ठूला पार्टीले देश बर्बाद पार्दैछन् : अध्यक्ष लिङदेन
‘एउटा व्यवसायीको लाभको लागि पाथीभरामा केबलकार बन्न दिनु हुँदैन’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पाथीभरा मन्दिरमा कुनै एक व्यवसायीको लाभको लागि केबलकार बनाउन दिन नहुने बताएका छन् । आज (आइतबार) काठमाडौंमा पाथिभरा केबुलकारको विषयमा धारणा राख्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले जनतामाथि गोली चलाएर दमन गरी पाथीभरा मन्दिरमा केबलकार बनाउन जरुरी नभएको बताएका हुन् ।
उनले सरकारले एक जना व्यापारीको फाइदा, केही राजनीतिक नेताहरुको कमिसन र शेयर सुरक्षाको लागि जनता माथि गोली चलाएर केबलकार बनाउन दिन खाजेको आरोप लगाए । उनले पाथीभरा मन्दिरमा केबलकारको आवश्यकता, स्थानीय जनताको फाइदा, मन्दिरको मौलिकताको सुरक्षा,सनातन परम्परामाथि आक्रमण र सुरक्षाका विषयमा विश्लेषण गरेर मात्रै केवलकार निर्माण कार्यअघि बढाउनु पर्नेमा जोड दिए ।
सरकारले केबलकार निर्माण कार्य तत्काल रोक्नुपर्ने बताए । उनले केबलकार निर्माण कार्य रोक्दै सरकारले जनतामाथि गरिएको प्रहरी दमन रोकी सहज वातावरण र जनजीवनलाई सहज बनाउँदै आतंकको अन्त्य गर्न ध्यानाकर्षण गराए । उनले सरकार व्यवसायीको व्यक्तिगत लाभसँग सम्बन्धि विषयहरुमा मात्रै केन्द्रित हुँदै जाने र जनतालाई दमन गर्दै जाने हो भने राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिवाद गर्ने चेतावनी दिए ।
अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा(माओवादी केन्द्र) बाट देश बन्छ भनेर पर्खिने छुट नरहेको बताएका छन् । उनले तीनवटै पार्टीका नेतृत्वबाट देश विकास हुन्छ भनेर पर्खिन नहुने बताएका हुन् । मुलुक करिब साढे तीन दशकदेखि कांग्रेस, एमाले र माओवादीको वरिपरि घुमिरहेको भए पनि मुलुकको विकास हुन नसकेको बताए । लिङ्देनले राप्रपा मात्रै देश र धर्म बचाउने अभियानमा भएको दाबीसहित सहयोग गर्न आग्रह पनि गरे ।
‘राप्रपा नेपालमा रहेका राजनीतिक पार्टीमध्येको एक पार्टी मात्र होइन यो देश र धर्म बचाउने अभियान पनि हो। नेपालको राजनीतिमा भ्रष्टाचार गरेर खानु आमाको रगत खानु हो भनेर हामी अगाडि बढिरेहको छौँ,’ उनले भने, ‘आज राप्रपाको दर्शन र सिद्धान्तको रुपमा आज स्थापीत भएको छ । म त्यो मान्छे हो जसले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु हो भनेर मात्र भनेको छैन । मैले मेरो जीवनकालमा एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन भनेर जुनसुकै मन्दिरमा जान सक्छु । यो जीवनमा त के राजेन्द्र लिङदेनले अर्को जीवनमा समेत भ्रष्टाचार गर्ने छैन ।’
देशमा योभन्दा धेरै बर्बाद हुने ठाउँ नभएको उनको भनाइ छ । ‘तपाईहरू ढुक्कका साथ अगाडि बढ्नुस् । नेपाल अब योभन्दा बढी बर्बाद हुने ठाउँ छैन । साढे तीन दशकको समयमा प्रजातन्त्र, लोकतन्त्र, गणतनत्र जे नाम दिए पनि त्यही मानिस र त्यही पार्टीहरूको त्यही एमाले, त्यही कांग्रेस, त्यही माओवादी र तिनै नेताको वरिपरि सत्ता घुमिरहेको छ। तर यो साढे तीन दशकमा देशको अवस्था के भयो ? मैले भनिराख्नु पर्दैन,’ उनले भने, ‘हामी कहाँ जाने भनेर उनीहरूसँग हिँडेका थियौं र अहिले हामी कहाँ पुग्यौं । हाम्रो आँखा अगाडि छर्लङ्ग छ।’