घुससहित पक्राउ परेका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भवन निर्माणका क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । नवलपरासीको पाल्हिनन्द गाउँपालिका–स्थित राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेल, विद्यालय सहायक लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहार समेत गरी तीन जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप– पत्र दायर भएको हो ।
अख्तिायरका प्रवक्ता नरहरि घिमिरेका अनुसार अनु सन्धानका क्रममा प्रधानाध्यापक कण्डेल, विद्यालय सहायक लेखापाल गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य कहारको मिलेमतोमा भवन निर्माण सम्पन्न पछि अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग ६५ हजार घुस लिएको पुष्टि हुन आएपछि उनीहरूविरुद्ध आरोप पत्र दायर भएको हो । उनीहरू केही समयअघि सेवाग्राहीबाट ६५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । उनीहरूविरुद्ध सोही रकम बराबरको बिगो र जरिवाना सजायको माग गरिएको विशेषमा दायर गरेको आरोप पत्रमा उल्लेख छ ।