फेरि बढ्यो इन्धनको मूल्य
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको जनाउँदै निगमले फेरि मूल्य बढाएको हो ।
निगमले शुक्रबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा ४-४ रुपैयाँ बढाएको छ। नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ पर्छ । डिजेल र मट्टितेल प्रतिलिटर १६०-१६० रुपैयाँ पर्छ ।
त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बढेको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४३ अमेरिकी डलरले बढाइएको छ । यसअघि निगमले माघ २ गते राति १२ बजेपछि बाट लागू हुनेगरी पेट्रोलमा २ रुपैयाँ र डिजेल-मट्टितेलमा ३-३ रुपैयाँ बढाएको थियो ।
यस्तै पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । यससँगै अब पेट्रोलको मूल्य पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ प्रतिलिटर भएको छ। त्यस्तै, डिजेल-मट्टितेलको मूल्य पहिलो वर्गमा १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ भएको छ ।