मुक्कुम्लुङका अभियन्ता भन्छन्–विकासका अवधारणा परिवर्तन गरौं


२१:२९ बजे

काठमाडौं । केही दिनयता ताप्लेजुङ्मा मुक्कुम्लुङ संरक्षणको विषयमा आन्दोलन चलिरहेको छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यी विषयमा बहस भइरहँदा बौद्धिक जगत तथा कलाक्षेत्रका व्यक्तिहरूले हाम्रा विकासका अवधारणा नै गलत भएको बताएका छन् ।

आज मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘मुक्कुम्लुङः चोःत्–लुङ अफ याक्थुङ’ को सन्दर्भमा आयोजित ‘मुक्कुम्लुङ मन्थन’ का वक्ताहरूले राज्यको विकासका अवधारणा परिवर्तन गर्न सुझाव दिएका छन् । ‘हामीले हाम्रो सामाजिक सांस्कृतिक पुँजीलाई समाज निर्माणमा प्रयोग गर्न सकेका छैनौं’, समाजशास्त्री डा. मीना पौडेलले भनिन्, ‘नेपालको माटो, सामाजिक विविधता सुहाउँदो र समतामूलक समाज निर्माणका लागि योजना नै बन्दैन । विकासको दृष्टिकोण केवलकार, भ्यूटावर बन्नु, खोलाको गिट्टी बालुवा ठेक्का लगाउनु मात्रै होइन ।’

उनले मुक्कुम्लुङको आन्दोलनलाई जातीय बिल्ला भिराएर लिम्बूहरूको पहिचान र आन्दोलनसँग मात्र जोडेर हेर्न नहुने बताइन् । ‘सदियौँदेखि विभिन्न स्थानमा आदिवासी जनजाति समुदायमाथि दमन भइरहेको छ । ती सबैलाई एकत्रित गरेर आन्दोलन गर्न सके मात्र सशक्त हुन्छ’, डा. पौडेलले भनिन्, ‘यस्तो आन्दोलन अहिले हाम्रो देशमा मात्र होइन संसारभर चलिरहेको छ ।’

अर्का वक्ता तथा लेखक युग पाठकले नेपाललाई नेपाल जस्तो बनाउने भन्दा स्वीजरल्याण्ड, सिङ्गापुर जस्तो बनाउनेबाट विकासको अवधारणाबाटै गलत भाष्य निर्माण भएको बताए । ‘यहाँ विभिन्न मुलुकबाट परियोजनाका नाममा सके आर्थिक र नसके दार्शनिक लगानी गरेर भए पनि विकासको धारणालाई गलत ढङ्गबाट भाष्य निर्माण गरिएको छ’, उनले भने, ‘केवलकार नबनाउँदा जङ्गली हुने र बनाउँदा भोलिपल्टै अमेरिकी जस्तो हुने भाष्य बनाइएको छ, यो सरासर गलत छ ।’ विकासमा पर्यावरणको मुद्दा उठेकै धेरै समय नभएकाले मुक्कुम्लुङ जस्ता आन्दोलन अब राज्यले दमन गर्दैमा नरोकिने बताए ।

चलचित्र निर्देशक नवीन सुब्बाले मुक्कुम्लुङ एउटा समुदायको मात्र सांस्कृतिक धरोहर नभइ सबैले संरक्षण गर्नुपर्ने आस्थाको केन्द्र रहेको बताए । लिम्बूहरूको मुन्धुममै मुक्कुम्लुङलाई शीरको रूपमा पूजिने भएकाले लिम्बू समुदायले सांस्कृतिक र पर्यावरणीय रूपमा संरक्षणका लागि आन्दोलन गरेको उनले स्पष्ट पारे । ‘कुनै एक धर्म वा सम्प्रदायमा जे गरिनु हुँदैन भनेको छ । त्यही गर भनेर कसैले भन्यो भने के हुन्छ’, उनले भने, ‘मुक्कुम्लुङमा अहिले भएको त्यही हो । यो आदिवासी समुदायको भूमिमाथिको अधिकारको विषय पनि भएकाले अहिले आन्दोलन चर्किनु स्वाभाविक हो ।’

उनले कलाकारहरूले कला र संस्कृतिको माध्यमबाट सामाजिक, सांस्कृतिक चेतना अभिवृद्धि र प्रतिरोधका लागि सचेत गराउनुपर्नेमा जोड दिए । कार्यक्रमको सहजीकरण सम्पदा लिम्बूले गरेकी थिइन् । कार्यक्रमको अन्त्यमा मुक्कुम्लुङ नाटकमा आधारित रहेर कविहरू सन्जित फलाना, मिथोच, सुरज राना, उत्तम तुम्सा लिम्बूलगायतका कविले कविता वाचन गरेका थिए । मण्डला नाटकघरमा ‘मुक्कुम्लुङ’ नाटक यही माघ ४ गतेदेखि मञ्चन भइरहेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७