भोलिबाट संसदको हिउँदे अधिवेशन : सत्ता र प्रतिपक्ष आमने–सामनेको संकेत
काठमाडौं । संसदको हिउँदे अधिवेशन भोलि (शुक्रबार) बाट सुरु हुँदैछ । तर, संसदमा सत्ता र प्रतिपक्ष आमने–सामने हुने संकेत देखिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहित अन्य विपक्षी दलहरू सरकारका काम कारबाहीप्रति सन्तुष्ट छैनन् ।
भोलिको बैठकमा प्रस्तुत हुन सत्तापक्ष र प्रतिपक्षी दलहरु आ–आफ्नो रणनीतिमा छन् । दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध विपक्षी दल आक्रमक रुपमा प्रस्तुत हुने रणनीतिमा छ ।
माओवादी केन्द्रसहित एकीकृत समाजवादी, रास्वपा, राप्रपालगायतका दलहरूले संयुक्त बैठकबाटै सरकारविरुद्ध कडा रूपमा प्रस्तुत हुने निर्णय नै गरिसकेका छन् । उनीहरूले सरकार पूर्णतः असफल भइसकेको दावी गरेका छन् । माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले संयुक्त बैठकले ‘यो सरकार असफल भइसकेको’ निष्कर्ष निकालेको सुनाए ।
रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायतका दलहरू पनि सरकारको काम कारबाहीप्रति सन्तुष्ट छैनन् । जनअपेक्षित काम नगरेको, संसद् छरेल आधा दर्जन अध्यादेश ल्याएकोलगायतका विषयलाई संसद्मा मुख्य मुद्दा बनाउने योजनामा विपक्षी दलहरू छन् । विपक्षी दलहरू मात्रै होइन, सत्तापक्ष दलहरू नै पनि सरकारको काम कारबाहीप्रति सन्तुष्ट छैनन् । कांग्रेस, लोसपा, जसपा, नागरिक उन्मुक्तिलगायतका दलहरूले पनि सरकारले अपेक्षित काम नगरेको बताइरहेका छन् । यस्तो अवस्थामा संसद्मा गर्मागर्मी हुने सम्भावना देखिएको छ । तर, एमालेका प्रमुख सचेतक महेश बर्तौला भने सत्तापक्षीय दलहरूसँग सँगै उभिने बताउँछन् ।
‘सत्तामा रहेका दलहरू एकजुट भएर उभिन्छौँ,’ उनले भने । विपक्षी दलहरुलाई आफ्नो कुरा राख्न छुट भए पनि सदनलाई प्रभावकारी बनाउन एकै ठाउँमा हुने उनको विश्वास छ । त्यसो त मंगलबार संसदीय दलको बैठक नै राखेर प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष अध्यक्ष ओलीले तथ्य र प्रमाणको आधारमा संसदमा उत्रिन निर्देशन दिइसकेका छन् । एमालेमा मात्रै होइन, सत्तारुढ दल कांग्रेसले पनि सरकारको समर्थनमा उभिने पार्टीका सांसदहरुलाई निर्देशन दिइसकेको छ । भोलि पनि कांग्रेसको संसदीय दलको बैठक बस्दैछ।