सरकार ढल्छ भन्नेहरु कांग्रेस–एमालेको सम्बन्ध देखेर छटपटाएका छन् : प्रदीप ज्ञवाली


२०८१ माघ १७ बिहीबार ००:४६ बजे
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशका सबै क्षेत्र अस्तव्यस्त भएका कारण कांग्रेस र एमालेबीच सहकार्य आवश्यक भएको बताएका छन् ।

आज (बिहीबार) प्रेस चौतारी नेपाल ललितपुरको छैटौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले सुशासन कायम गरी अर्थतन्त्रलाई चलायमान बनाई नागरिकमा आशा जगाउन दुई दल मिलेर सरकार बनाएका बताएका हुन् । कांग्रेस र एमालेबीच सहज अवस्थामा प्रतिस्पर्धा हुने बताउँदै ज्ञवालीले देश र व्यवस्थालाई संकट पर्दा दुई दल मिल्ने गरेको ज्ञवालीको भनाइ छ । ‘धेरैको अनुमान विपरीत नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिएर राष्ट्रको समस्या सम्बोधनको प्रयास भएको छ’, उनले भने ।

सहकारीका ठगलाई कारबाही अघि बढाउँदा रास्वपाले यो रवि लामिछाने र रास्वपालाई समाप्त गर्न चालिएको कदम भनि गरेको प्रचारको ज्ञवालीले आलोचना गरे । सहकारी ठगी प्रकरणमा रास्वपाका मात्र नभएर नेकपा एमाले लगायत अन्य दलमा आबद्ध मानिसहरू माथि पनि मुद्दा चलिरहेको उनले बताए । ‘गल्ती छ भने सडक अदालतले गरेको फैसलाको अर्थ छैन’, उनले भने ।

सरकार ढल्छ भनेर बारम्बार म्याद तोक्नेहरू सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको सम्बन्ध अझ बलियो भएको देखेर छटपटाएका ज्ञवालीले धारणा राखे । ६-६ महिनामा सरकार फेर्ने बिचौलियाको प्रयास अहिले असफल भएको उनको भनाइ छ । यसमा विभिन्न शक्ति लागेका बताउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसको केन्द्रमा रहेको उनले बताए ।

देश एकदमै राम्रो विन्दुमा पुग्यो भन्ने अवस्था अहिले नभए पनि देश सकारात्मक दिशामा अघि बढेको उनले बताए । माओवादीको १० वर्षे द्वन्द्वले गरेको क्षति र त्यसलाई व्यवस्थापन गर्न लागेको अर्को १० वर्षले देशको विकास गतिलाई पछि धकेलेको उनको भनाइ छ । एमाले सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्दै उनले लोकतन्त्रले जनताको जीवनमा पनि परिवर्तन ल्याउनु पर्ने बताए । नेकपा एमाले समृद्ध नेपाल सुखी नेपालीको मर्मलाई बोक्न सक्ने लोकतन्त्रको पक्षमा रहेको उनले स्पष्ट पारे । निरंकुशताको जेल, नेल भोगेर आएका एमाले नेताहरूले लोकतन्त्रको मर्म राम्रोसँग बुझेका उहाँले स्पष्ट पारे । ‘स्वतन्त्रता खोसिँदाको पीडा हामीलाई थाहा छ, पिँजडाको सुगालाई मात्र स्वतन्त्रताको मूल्य थाहा हुन्छ’, उनले भने ।

उनले पत्रकारितामा विश्वसनीयता सबैभन्दा महत्पूर्ण भएको बताए । यसमा पत्रकारले विशेष ध्यान दिनुपर्नेमा ज्ञवालीले जोड दिए । ‘लोकतन्त्रलाई मर्यादित बनायो भने मात्र लोकतन्त्र बच्छ, अराजकता र स्वच्छन्दताले लोकतन्त्रलाई कमजोर बताउँछ’, ज्ञवालीले भने । अहिले अरू सबै खराब म मात्रै ठिक भन्ने भाष्य निर्माण गरेर सामाजिक सञ्जालमार्फत अनेक खालका वितण्डा मच्चाउने काम भएका भन्दै ज्ञवालीले त्यसलाई नियमनको लागि सरकारले ऐन ल्याउन लागेको बताएका थिए । विधेयक संसदमा छलफल हुने भएकोले त्यसलाई परिमार्जनसहित व्यवस्थित बनाइने उनको धारणा छ। यस विषयमा सञ्चार क्षेत्रसँग पनि छलफल गरेर सुझाव लिन सुझाव दिए ।

तथ्यमा आधारित भएर जसको पनि पर्याप्त आलोचना गर्न पाइने उनले बताए । तर जिउँदो मानिसलाई श्रद्धाञ्जली दिने जस्ता कार्यलाई स्विकार्न नसकिने उनले स्पष्ट पारे । मिडिया र सामाजिक सञ्जाल स्वच्छ मनोरञ्जन र सूचना आदानप्रदानको थलो बन्नु पर्नेमा उनले जोड दिए । यसको लागि कहाँ योगदान दिनु पर्ने हो त्यो योगदान गर्न एमाले तयार रहेको बताए । असत्यको भिडबाट सत्यलाई किचिनबाट नजोगाउने हो भने सत्य मर्ने ज्ञवालीको भनाइ छ । सत्यलाई जोगाउन प्रेस चौतारी नेपालले नेतृत्वदायी भूमिका खेल्ने ज्ञवालीले विश्वास व्यक्त गरे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७