इजरायलले भन्यो–विपिन जोशी गाजामा छन्, तर आज रिहा हुने सूचीमा छैनन्
काठमाडौं । इजरायलले हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशी सकुशल रहेको बताएको छ । गाजामा इजरायल र हमासबीच युद्ध रोकिएसँगै नेपालीहरू विपिन जोशीको रिहाइको पर्खाइमा छन् । सरकारले उनी जीवित रहेको र चाँडै फर्कने दाबी गर्दै आएको छ ।
यसैबीच इजरायल सरकारले पनि उनी जीवित रहेको पुष्टि गरेको छ । हमासले आज रिहा गर्ने इजरायली बन्धकहरूको जानकारी दिँदै, अधिकारीहरूले नेपालका जोशी जीवित रहेको बताएका छन् । टाइम्स अफ इजरायलका अनुसार, आज रिहा हुनेमा २९ वर्षीय अर्बेल येहुद, १९ वर्षीय अगम बर्गर र ८० वर्षीय गाडी मोशे मोजेस छन् । हमासले इजिप्ट र कतारमार्फत इजरायललाई यी नाम दिएको हो । आज पाँच थाइ बन्धकहरूलाई पनि हमासले रिहा गर्नेछ, तर उनीहरूको पहिचान खुलाइएको छैन ।
द टाइम्स अफ इजरायलका अनुसार, गाजामा अझै आठ थाइ बन्धकहरू, एक नेपाली र एक तान्जानियन रहेका छन् । तर, दुई थाइ नागरिक र एक तान्जानियालीको भने मृत्यु भइसकेको छ । आज रिहाइको समय र स्थान अझै अनिश्चित छ किनभने बन्धकहरू फरक–फरक समूहको नियन्त्रणमा छन् ।
गत वर्ष १९ जनवरीमा सुरु भएको युद्धविराम र बन्धक रिहाइ सम्झौता अन्तर्गत हालसम्म सात महिला बन्धकहरू (तीन नागरिक र चार जना सैनिकहरू) रिहा भएका छन् । मोजेस यस सम्झौता अन्तर्गत मुक्त हुने पहिलो पुरुष बन्धक हुनेछन् । आज रिहा हुने तीन बन्धकको बदलामा, इजरायलले ११० प्यालेस्टिनीलाई रिहा गर्नेछ ।