वर्षमानलाई लिएर तेह्रथुम उडे प्रचण्ड, यस्ता छन् दुई दिनका कार्यक्रम
काठमाडौं । केहि दिनयता राजधानी बाहिर सक्रिय रहेका प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार पूर्वी पहाडी जिल्ला तेह्रथुम उडेका छन् । उपमहासचिव वर्षमान पुनलाई साथ लिएर सोमबार बिहान सैनिक हेलिकप्टरमार्फत् उनी त्यसतर्फ गएका हुन् ।
सोमबार र मंगलबार तेह्रथुमका विभिन्न स्थानमा हुने पार्टीको कार्यक्रममा सहभागी हुन प्रचण्ड त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ । उनले आज लालीगुराँस नगरपालिका– ७ लसुनेस्थित शहीद धनरूपा पार्कको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि प्रचण्डले आठराई गाउँपालिका–३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।
यो स्थानमा २०५८ साल माघ २४ गते आजकै दिन सुरक्षाकर्मीको गोली लागेर १८ माओवादी सेनाका लडाकु र ३ सर्वसाधारणको मृत्यु भएको थियो । प्रचण्ड मंगलबार जिल्लाका कार्यकर्ता, शहीद परिवारलाई भेटघाट गर्नुका साथै कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर काठमाडौं फर्किने माओवादी केन्द तेहथुमका नेता रघु गौतमले जानकारी दिए ।
मंगलबार बिहान आठराई–६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने प्रचण्डको कार्यतालिका छ । त्यसपछि उनले कन्दङवाको शालिक अनावरण गर्नेछन्। दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा पार्टीको तेह्रथुम जिल्लास्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्कने माओवादी केन्द्र तेहथुमका नेता रघु गौतमले जानकारी दिए।
प्रचण्डले पञ्चायतको अन्तिम समयतिर तेह्रथुमको चुहानडाँडामा रहेको तत्कालीन शारदा माद्यमिक विद्यालयमा शिक्षकको नियुक्तिपत्र लिएका थिए । नियुक्तिपत्र लिएर सदरमुकाम म्याङलुङसम्म पुगेका उनी विद्यालय धेरै टाढा र विकट ठाउँमा रहेको थाहा पाएपछि फर्किएका थिए ।