प्रचण्ड वर्षमानलाई लिएर आज तेह्रथुम जाँदै

दुई दिन प्रधानमन्त्री ओलीको जन्मथलोमा बिताउने


२०८१ माघ १४ सोमबार २२:४४ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा जाँदैछन् । पछिल्ला दिन काठमाडौ उपत्यका बाहिर केन्द्रित अध्यक्ष प्रचण्ड आज तेह्रथुम जाने भएका हुन् । सोमबार र मंगलबार तेह्रथुमका विभिन्न स्थानमा हुने पार्टीको कार्यक्रममा सहभागी हुन प्रचण्ड त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ ।

प्रचण्डसँगै सैनिक हेलिकोप्टरमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि तेह्रथुम जाँदैछन् । उनले आज लालीगुराँस नगरपालिका– ७ लसुनेस्थित शहीद धनरूपा पार्कको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि प्रचण्डले आठराई गाउँपालिका–३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ । उनीसँगै उपमहासचिव वर्षमान पुन पनि रहने छन् ।

यो स्थानमा २०५८ साल माघ २४ गते आजकै दिन सुरक्षाकर्मीको गोली लागेर १८ माओवादी सेनाका लडाकु र ३ सर्वसाधारणको मृत्यु भएको थियो । प्रचण्ड मंगलबार जिल्लाका कार्यकर्ता, शहीद परिवारलाई भेटघाट गर्नुका साथै कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर काठमाडौं फर्किने माओवादी केन्द तेहथुमका नेता रघु गौतमले जानकारी दिए। 

मंगलबार बिहान आठराई–६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने प्रचण्डको कार्यतालिका छ । त्यसपछि उनले कन्दङवाको शालिक अनावरण गर्नेछन्। दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा पार्टीको तेह्रथुम जिल्लास्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्कने माओवादी केन्द्र तेहथुमका नेता रघु गौतमले जानकारी दिए।

प्रचण्डले पञ्चायतको अन्तिम समयतिर तेह्रथुमको चुहानडाँडामा रहेको तत्कालीन शारदा माद्यमिक विद्यालयमा शिक्षकको नियुक्तिपत्र लिएका थिए । नियुक्तिपत्र लिएर सदरमुकाम म्याङलुङसम्म पुगेका उनी विद्यालय धेरै टाढा र विकट ठाउँमा रहेको थाहा पाएपछि फर्किएका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७