सत्ता र प्रतिपक्षका नेतासँग छुट्टाछुट्टै छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसद्को हिउँदे अधिवेशनको तयारीका लागि सक्रियता बढाएका छन्।यस अन्तर्गत उनले आइतबार सत्ता र प्रतिपक्षका नेताहरूसँग छुट्टाछुट्टै भेट्दै छन् । आसन्न संसदको हिउँदे अधिवेशनको सन्दर्भमा सभामुख देवराज घिमिरेले विभिन्न बैठक राखेका छन् । यही माघ १८ गतेबाट हिउँदे अधिवेशन आव्हान भएको छ ।
सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार बिहान ११ बजेदेखि सत्तापक्षका मुख्य र प्रमुख सचेतकसँग छलफल छ । प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँगको छलफल दिउँसो २ बजे तय गरिएको छ ।
त्यस्तै भोलि बिहान ११ बजे प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग बैठक राखिएको छ । दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । समितिमा विचाराधीन विधेयकलाई छिटो टुंग्याउन सभामुखले संसदीय समितिका सभापतिसँग अलग–अलग संवाद गर्दै आएका छन् ।