केही गर्छु भन्नेलाई नेपालमा अवसर नै अवसर छ : महासचिव पोखरेल 


२०८१ माघ ११ शुक्रबार ०१:३४ बजे
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका केही गर्छु भन्नेलाई अवसर नै अवसर भएको बताएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालद्वारा आयोजित संगठनमा प्रवेश गर्नेको स्वागत कार्यक्रमलाई शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै पोखरेलले नेपालमा अवसर छैन भन्ने कुरा गलत भएको बताए । ‘जहाँ विकास भइसकेको हुँदैन, त्यहाँ सम्भावना ज्यादा हुन्छ, जहाँ विकास सम्भावना छन्, त्यहाँ केही गर्न चाहनेका लागि अवसरहरू पनि छन्’, उनले भने । 

नेपालमा स्वास्थ्य क्षेत्रका उत्पादित ८० प्रतिशत जनशक्ति विदेश जानु विडम्बनाको कुरा भएको उनले बताए । देशमा जनशक्ति कम भइरहेको अवस्थामा पनि दक्ष जनशक्ति बिदेशिने क्रम चलिरहेकाले त्यसलाई रोक्नु पर्नेमा उनले जोड दिए । कार्यक्रममा बोल्दै पोखरेलले स्वास्थ्य क्षेत्र प्रभाकारी हुँदा मात्र राष्ट्र समृद्ध बन्ने बताए । स्वास्थ्य क्षेत्र कमजोर भयो भने सामाजिक सूचकका दृष्टिले देशलाई समृद्ध र सुखी मुलुक भन्न नसकिने पोखरेलले प्रष्ट पारे । 

अहिले पनि नेपालीको ठूलो संख्या उपचारको लागि देश बाहिर जानु पर्ने बाध्यता रहेको उनले बताए । उच्च र उच्चमध्यम वर्गका मानिसहरू मात्र होइन सीमावर्ती क्षेत्रका विपन्न नागरिक पनि उपचारको लागि बाहिर जाने गरेको पोखरेलले सुनाए । तथापि नेपालमा आँखाको उपचारका लागि विदेशका मानिसहरू पनि आउने गरेका उनले बताए । चिकित्सा क्षेत्रमा सामथ्र्य वृद्धि गर्ने हो भने नेपालमा उपचारको लागि देश बाहिरका मानिसहरू पनि आउने पोखरेलले बताए । नेपाललाई अध्ययन र स्वास्थ्य उपचारको हिसाबले समेत पर्यटकीय क्षेत्र बनाउन सकिने सम्भावना रहेको पोखरेलले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७