आज पनि सकिएन रवि लामिछानेको थुनछेक बहस, भोलि फेरि उपस्थित हुने 


२०८१ माघ ११ शुक्रबार ०१:३७ बजे

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक आज (शुक्रबार) पनि ‘हेर्दाहेर्दै’ मा राखिएको छ । लामिछानेको तर्फबाट तीन जना वकिलले बहस गरेका छन् । उनीहरूको बहस नसकिएपछि आइतबार पुनः अदालत उपस्थित हुने शर्तमा रविलाई परिवारको जिम्मा लगाइएको छ ।

बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलनको आरोप लागेका लामिछानेमाथिको मुद्दा जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा थुनछेक जारी छ । थुनछेकमा उनको पक्षबाट शुक्रबार तीन जनाले बहस गरेका हुन् । वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरेन्द्र थापा र सञ्जय गोलेले बहस गरेका हुन् ।  तीन जनाले बहस गरेको भए पनि रविकै पक्षबाट आइतबार थप वकिलहरूले बहस गर्ने तयारी छ ।

अधिवक्ताहरू सुरज बस्नेत, सुनिता राउत र पशुपति भण्डारीले पनि आइतबार बहस गर्ने तयारी छ । शुक्रबार जाहेरवालाको पक्षबाट वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले पनि बहस गरेका थिए । आइतबार रवि पक्षका वकिलहरूले बहस गर्न सकेपछि जबाफी बहस गर्नेछन् । उक्त बहस सकेपछि न्यायाधीशले थुनछेक आदेश दिनेछन् ।

रवि लामिछाने हाल परिवार र वकिलको जिम्मामा छाडिएका छन् । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधमा सरकारी वकिल कार्यालयले रवि लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर आइतबार मुद्दा दर्ता गरेको थियो । गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले पूरक अभियोग पत्रबाट लामिछाने, पूर्व डीआइजी छविलाल जोशीसहित १४ जनाविरूद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको थियो ।

मुद्दामा जिबी राई, लामिछानेसहित २८ जनाबाट ५५ करोड बढी र रवि, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र रविको व्यक्तिगततर्फ २ करोड बिगो दाबी गरिएको छ । सहकारी ठगी प्रकरणमा लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७