पुरानो ढंगको राजनीतिक र नेतृत्व शैलीले देश संकटतिर होमिँदै :  डा. भट्टराई


२०८१ माघ ८ मंगलबार ०७:०६ बजे
फाइल फोटो

गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जसरी पनि सत्तामा पुग्ने, राज्यसत्ताको दोहन गर्ने नेपालको राजनीतिक प्रवृत्ति दुर्भाग्य रहेको बताएका छन् । गृह जिल्ला गोर्खा आएका भट्टराईले मंगलबार पत्रकारसँग कुरा गर्दे पुराना राजनीतिक दलसँग देश विकासको सोच नै नरहेको बताए ।

‘जसरी पनि सत्तामा पुग्ने, राज्यसत्ताको दोहन गर्ने, ठेक्का पट्टा, कमिसनखोर गरेर पैसा जम्मा गर्ने त्यसले कार्यकर्ता पाल्ने, चुनावी खर्च उठाउने, राजनीति त्यस्तो धन्दा बन्न पुग्यो, दुर्भाग्य कुरा त्यो हो,’ उनले भने, ‘पुरानो राजनीति शक्ति र नेता पालैपालो सत्तामा बसिरहनु भएको छ, उहाँहरुको कुनै विश्वसनियता पनि छैन, देश विकासको सोच पनि छैन, त्यसैले जनताले विकल्प खोजेका हुन् ।’

पुरानो ढंगको राजनीतिक र नेताको नेतृत्व शैलीले देश संकटतिर होमिदै गएको उनको आरोप छ । ‘प्राप्त उपलब्धिलाई जोगाएर अगाडि जाने विकल्प दिनुपर्छ भन्ने हो,’ उनले भने । निर्वाचन प्रणाली र शासकीय स्वरुपको विषय आफूले पटक–पटक उठाउँदै आएको उनले बताए । ‘सरकारबाट बाहिर जाँदा मलाई फ्याँकीदिए, म आएपछि ठीक गर्छु भन्ने तर्क भएको छ,’ उनले भने, ‘दुई ठूला पार्टी मिलेर सरकार बनाएका छन्, म धेरै अपेक्षा त गर्दिनँ, फेरि त्यसको विकल्प के त, फेरि साना दलले सरकार बनाउने ?’

गत वर्षबाटै मुख्य तीन दलका शीर्ष नेतालाई भेटेर राष्ट्रिय सरकार बनाउन सुझाव दिएको उनले बताए । शान्ति प्रक्रिया पूरा गर्न, आर्थिक व्यवस्थापनको योजना ल्याएर युवालाई स्वदेशमा रोक्नका लागि राष्ट्रिय सरकार बनाएर अघि बढ्न आफूले सुझाव दिएको उनले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७