वैदेशिक रोजगारीमा १६ वर्षमा १४ हजार नेपाली श्रमिकको मृत्यु
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि इमान्दारीतापूर्वक सेवा प्रवाह गर्न व्यवसायीलाई सुझाव दिएका छन् । वैदेशिक रोजगार बोर्ड सचिवालयद्वारा आज यहाँ आयोजित ‘कानुनी-नैतिक भर्तीसम्बन्धी कार्यशाला गोष्ठी’ मा उनले वैदेशिक रोजगार व्यवसायप्रति आमनागरिकको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताए । त्यसका लागि सेवा प्रवाह पारदर्शी बनाउन सुझाव दिँदै उनले नैतिक व्यवहार अवलम्बन गर्न आग्रह गरे ।
मन्त्री भण्डारीले आप्रवासी श्रमिकलाई अकाल मृत्यु र ऋणको पासोमा पर्न नदिन पनि व्यवसायी जिम्मेवार हुनुपर्ने बताए। मन्त्रालयले श्रमिकलाई वैदेशिक रोजगार प्रस्थान अघिपछि तालिम एवं सुसूचित गराउँदै आएको उनको भनाइ थियो । मन्त्रालयले वैदेशिक रोजगारमा जानेलाई बिना धितो ऋण उपलब्ध गराउन कार्यविधि तयार गरिरहेको उनले जानकारी समेत दिए ।
‘वैदेशिक रोजगारीमा १६ वर्षमा १४ हजार नेपाली श्रमिकको मृत्यु भइसकेको छ । अहिले पनि खाडी मुलुकबाट आएका ४० प्रतिशत श्रमिक डायलासिस गर्दैछन्, धेरै मिर्गौलाका बिरामी छन्’, उनले भने, ‘श्रमिकलाई बचाउने हिसाबले सरकार अघि बढेका छौँ । व्यवसायी पनि नैतिक हुन्छु भन्ने प्रण गर्नुहोस् ।’
उनले श्रमिकको सुविधाका लागि मन्त्रालय र मातहतका निकायको कामलाई पूर्णरूपमा ‘डिजिटलाइजेसन’ गर्न प्रयासरत रहेको बताए । व्यवसायी र श्रमिकबीचको विचौलियालाई हटाउन जोड दिँदै उहाँले अध्यादेशमार्फत आएको सुशासन ऐनको व्यवस्थाअनुसार अनावश्यक काम अल्झाउने र अड्काउने सरकारी निकायलाई कारबाही गर्न कानुनी उपचारको प्रयोग गर्न सुझाव दिए । सरकारी निकायले कुनै विषयमा निर्णय गर्न सात दिन बढी लगाएमा कारबाही गर्ने व्यवस्था उक्त ऐनमा छ ।
मन्त्री भण्डारीले शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) बाट अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउने काम भइरहेकोप्रति आफ्नो ध्यानार्कषण भएको बताए । ‘६० हजार नेपाली विद्यार्थी भिसामा जापानमा गएको देखियो । तर यर्थाथमा पाँच हजार पनि विद्यार्थी हुनुहुन्न’, उनले विद्यार्थीको भिसामा विदेश जाने श्रमिकको बढ्दो संख्याप्रति चिन्ता प्रकट गर्दै भने ।
उक्त कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले श्रमिकलाई झुठो आश्वासन नबाँड्न व्यवसायीलाई सचेत गराए । ‘झुठा वाचा नगर्नुहोस्’, महानिर्देशक खत्रीले भने, ‘श्रमिकले आफ्नो सम्झौताअनुसारको काम र पारिश्रमिक पाइरहेका छैनन् । श्रमिकसँगै स्वयम् व्यवसायीको हित र सम्मान बढ्ने काम गर्नुहोस् ।’ वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले यस गोष्ठीमा सरकार र व्यवसायीबीचको घनिभूत छलफलबाट निष्कर्षमा पुगिने बताए ।