माओवादीले माग्यो लेखा समितिका सभापति पोखरेलको राजीनामा


२०८१ माघ ८ मंगलबार १६:४३ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई नैतिकताका आधारमा पदबाट राजीनामा गर्न आग्रह गरेको छ । लेखा समिति सभापति प्रतिपक्षी दललाई दिनुपर्ने, लेखा समिति सभापतिकी श्रीमती सहकारी ठगी र स्वकीय सचिव ठगी गरेको आरोप लागेको अवस्थामा पोखरेलले नैतिकताका आधारमा पदबाट राजीनामा गर्नुपर्ने माओवादीले माग गरेको हो ।

सार्वजनिक लेखा समितिको मंगलबारको बैठकको सुरुमै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सभापति पोखरेललाई राजीनामा गर्न सुझाव दिए । ‘सभापतिमाथि नैतिक प्रश्न उठेपछि मार्गप्रशस्त गरिदिने र लोकतान्त्रिक ढंगले प्रतिपक्षी दललाई दिन माग गर्दछु,’ दाहालले भने, ‘लेखा समिति सभापति प्रतिपक्षी दलको नेतालाई दिनुपर्ने अभ्यास छ। तपाईं सभापति बनिसकेपछि केही विषयवस्तु बाहिर आए । उहाँको स्वकीय सचिवमार्फत भएका विषयवस्तु पनि बाहिर आएका छन् ।’

सार्वजनिक लेखा समिति सभापतिले सरकारको पक्षपोषण गरिरहेको पनि दाहालको भनाइ थियो । पोखरेल एमालेका सांसद हुन् । ९५ उजुरी समितिमा थन्किएको अवस्थामा सभापतिले छलफलमा नल्याएको पनि दाहालको भनाइ थियो । ‘सरकारले गरेका कुकर्म र दुष्कर्मको पक्षपोषण गर्ने, उजुरी रोक्ने, छोप्ने उद्देश्य तथा बदलनियत जोडिएका छन् कि भन्ने लागेको छ,’ सभापति नछोड्नुको पछाडि यस्तो उद्देश्य रहेको हो कि भन्ने आशंका रहेको उनले बताए । सार्वजनिक लेखा समितिलाई सरकारको लाचार छायाँ बनाइएको पनि दाहालले बताएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७