रवि लामिछाने फेरि हिरासतमै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज र भोलि पनि हिरासतमै रहने भएका छन् । सहकारी ठगी मुद्दामा सोमबार थुनछेक बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई हिरासतमै पठाउन आदेश दिएको हो ।
भोलि (मंगलबार) सार्वजनिक बिदा छ । त्यसैले उनलाई बुधबार (पर्सी) अदालतमा पेस गर्न इजलासले आदेश दिएको छ। उक्त मुद्दामा सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट ११ जनाले बहस गरे । सरकारी वकिलको बहस सकिएको छ । जाहेरवालाका तर्फबाट पनि बहस सकिएको छ ।
अब लामिछानेका वकिलको बहस बाँकी छ । उनीहरूले बुधबार बहस गर्नेछन् । उनलाई आइतबार पनि काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको छ ।