भूकम्पबाट चीनमा मृत्तकको संख्या ५३ पुग्यो, सक्दो उद्धार प्रयास गर्न राष्ट्रपति सीको निर्देशन
काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले चिनियाँ अधिकारीहरूलाई भूकम्पपछि उद्धार र राहतमा हरसम्भव प्रयास गर्न निर्देशन दिएका छन् । आज (मंगलबार) बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।
भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु(गहिराइ) १० किलोमिटर रहेको छ ।
चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सी चिनफिङले घाइतेहरूलाई तत्काल उद्धार गरी अस्पताल लैजान समेत निर्देशन दिएका छन् । सीले भूकम्पपछि विस्थापित भएकाहरूलाई पुनःस्थापना गर्न पनि तत्परता देखाउन निर्देशन दिएका छन् ।