रविको पक्षबाट पूर्व महान्यायाधिवक्ता श्रेष्ठसहित तीन अधिवक्ताले गरे बहस
काठमाडौं । पोखराको सूर्य दर्शन सहकारी संस्थाको बचत अपचलन प्रकरणमा कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको तर्फबाट तीन कानून व्यवसायीले थुनचेक बहस गरेका छन् । आज (सोमबार) कास्की जिल्ला अदालतमा लामिछानेको तर्फबाट तीन कानून व्यवसायीले बहस गरेको जिल्ला अदालत कास्कीका श्रेस्तेदार राजन खनालले जानकारी दिए ।
उनका अनुसार पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठ, वरिष्ठ अधिवक्ता सुशील पन्त र सुरेन्द्र थापाले बहस गरेका छन् । बाँकीले भने भोलि पुनः निरन्तर बहस गर्ने खनालले जानकारी दिए । रविको तर्फबाट बहस गर्न १८ अधिवक्ताले नाम टिपाएका छन् । बहस गरेका अधिवक्ताहरूले भने सहकारीसँग रविको कुनै सम्बन्ध नरहेको तर्क गरेका छन् ।
सहकारीसँग सम्बन्ध नरहेकाले रविलाई यसमा जोड्न नहुने उनीहरूको तर्क छ । यसअघि पूर्व डीआईजी छविलाल जोशी र लीला पछाईका तर्फबाट अधिवक्ताले बहस गरेका थिए । रविका तर्फका अधिवक्ताको बहसपछि आरती गुरुङ, पूर्वसांसद मीना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङका अधिवक्ताको बहस हुनेछ ।
त्यसपछि सरकारी वकिल कार्यालयले जवाफी बहस गर्नेछ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्य दर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । वकिल कार्यालयले एक करोड ५१ लाखभन्दा बढी विगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।