निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ : राष्ट्रपति पौडेल


०३:०८ बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको लोकतान्त्रिक आन्दोलन मात्र नभएर  सामाजिक र आर्थिक रुपान्तरणमा नेपाली पत्रकारिता क्षेत्र र नागरिक संस्थाका हैसियतले नेपाल पत्रकार महासङ्घले पुर्‍याएको योगदान सराहनीय रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रको सृदृढीकरण र स्थायित्व पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्ने बताए । उनले भने, ‘स्वतन्त्र, निष्पक्ष एवं व्यावसायिक पत्रकारिता तथा जनताको सूचनाको हक लोकतन्त्रको आधारस्तम्भ भएकाले हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई मौलिक हकका रुपमा प्रत्याभूत गरेको छ । त्यही भएर लोकतन्त्रको सृदृढीकरण र यसको स्थायित्व पनि पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्छ भन्ने म ठान्दछु ।’

राष्ट्रपतिले सूचनाप्रविधिको क्षेत्रमा भएको विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तनले पाठकको सही सूचना पाउने चाहना पूरा गर्न सहज भएको बताए । उनले सूचना प्राप्ति र सम्प्रेषणमा सहज भएसँगै चाँडो सूचना दिने होडबाजीमा मिथ्या सूचना प्रवाह हुनसक्ने र त्यसले समाजलाई दिग्भ्रमित पार्नसक्ने जोखिमतर्फ आमसञ्चारका माध्यमहरू सचेत हुन जरुरी भएको बताए।

राष्ट्रपतिले उपलब्ध नवीन सूचना प्रविधिको अधिकतम प्रयोगसँगै राज्यको चौथो अङ्गका रुपमा रहेका  सञ्चारमाध्यमले स्वतन्त्र, निष्पक्ष र वस्तुनिष्ठताजस्ता व्यावसायिक धर्मको अधीनमा रही सत्यको अन्वेषण र त्यसको सम्प्रेषणमा वर्तमानमा देखिएका चुनौतीलाई चिर्दै सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले श्रमजीवी पत्रकारको हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र व्यावसायिक पत्रकारिताका लागि महासङ्घले आगामी दिनमा अझ प्रभावकारी ढङ्गले काम गर्ने विश्वास व्यक्त गरे ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७