युवाहरूले गरे इपिएस कार्यालय घेराउ 


०२:२२ बजे
फाइल फोटो

काठमाडौं । युवाको समूहले ललितपुरको ग्वार्कोस्थित रोजगार अनुमति प्रणाली (इपिएस) कार्यालय घेराउ गरेका छन्। उनीहरुले दक्षिण कोरिया जान नपाएको भन्दै सोमबार कार्यालय घेराउ गरेका हुन् । भिसा लागेर पनि टिकट अभावमा कोरिया जान नपाएको तथा भाषा उत्तीर्ण गरेको लामो समय भइसक्दा पनि कोरिया जान नपाएको लगायत गुनासो लिएर उनीहरू इपिएस कार्यालय घेराउ गर्न पुगेका हुन् । 

भिसा अवधि सकिन लागिसक्दा पनि टिकटको टुंगो नलागेकाले आफूहरू बाध्य भएर कार्यालयलाई घच्घच्याउन आएको कार्यालय अगाडि भेटिएका इपिएस उत्तीर्ण प्रकाश शर्माले बताए । उनले भने, ‘मैले २०२४ मा उत्पादनमूलक क्षेत्रतर्फ भाषा परीक्षा पास गरेको हुँ । २०२४ सेप्टेम्बरमा इस्यु भएर अक्टोबरमा सिसिबिआई आइसकेको छ । भिसा लागेको पनि तीन महिना बित्न लागिसक्यो तर टिकटको टुंगो लागेको छैन ।’

एक पटकमा २५ देखि ३० जनाको मात्रै टिकट भइरहेको भिसा अवधि सकिन लागेका १५ सयभन्दा बढी युवाहरू रहेको उनले जानकारी दिएका छन् । ‘तीन महिनामा हामी जान सकिएन भने हाम्रो नाम रोस्टरबाट हट्छ । त्यसपछि एक वर्ष हामी कोरिया छिर्न पाउँदैनौं हाम्रो एक वर्ष बर्बाद हुन्छ,’ उनले सुनाए । 

इपिएस कार्यालयका शाखा अधिकृत कमलराज श्रेष्ठले भिसा लागेर पनि जान नपाउने समस्या रहेको स्वीकारेका छन् । ‘भिसा लागेर पनि जान नपाउने समस्या विगतका दिनमा कम थियो । अहिले कोरिया जाने कामदार पठाउने एयरलाइन्सको पहिलाको टेण्डर सकिएको र नयाँ प्रक्रिया सुरू भएको कारणले गर्दा त्यसको प्रभाव परेको हो,’ उनले भने । शाखाअधिकृत श्रेष्ठका अनुसार १५ सय बढी युवाहरू अहिले भिसा लागेर पनि उड्न पाएका छैनन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७