सतुवा खेतीमा किसानको आर्कषण


२३:५७ बजे
फाइल फोटो

भोजपुर । मनग्य आम्दानी हुने भएपछि सतुवाखेती भोजपुरका किसानका रोजाइमा परेको छ । बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा यहाँका किसानको आर्कषण बढेको हो । यहाँका लेकाली भेगका अधिकांश किसानले यसको व्यावसायिक खेती थालेका छन् । 

अन्य बालीको खेतीको तुलनामा सतुवाबाट राम्रो आम्दानी हुने किसानले बताउने गरेका छन् । सतुवा विशेष गरेर सेपिलो भागमा फस्टाउने किसानको भनाइ छ । यसको खेतीका लागि चिस्यान, ओसिलो र मलिलो माटो तथा उत्तर–पश्चिम फर्किएको भूगोलमा उपयुक्त  मानिन्छ ।  

सबै पातहरू सुरिलो डाँठको माथिल्लो भागबाट पलाएका हुन्छन् । एक हजार चार सय मिटर उचाइ भन्दामाथि पाइने यो जडीबुटी धेरै रोगको लागि उपयोगी मानिन्छ । सतुवा यार्सागुम्बा जस्तै शक्तिबद्र्धक हुने व्यवसायीहरुले बताउने गरेका छन् । यसलाई क्यान्सर, ग्याष्टिक, पेट दुख्ने, पोलेको, काटेको घाउ, पाकेको घाउ, बान्ता वा पखालालगायत रोगका लागि उपयोगी हुने बताइन्छ । 

त्यस्तै घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विष सेवन गरेको बेलामा प्रयोग गर्न सकिने बहुउपयोगी जडीबुटी रहेको किसानको भनाइ छ । सतुवा अहिले प्रतिकेजी रु आठदेखि दश हजारसम्म बिक्री हुने किसानको भनाइ छ । केही वर्ष अगाडिसम्म प्रतिकेजी रु २० हजारसम्ममा बिक्री भएको भए पनि पछिल्लो समय मूल्यमा केही गिरावट आएको छ । तर पनि किसानले भने यसको खेती अझै विस्तार गरिरहेका छन् । 

यो सतुवा टुसाउने समय रहेको किसानको भनाइ छ । जमिन रहेको गानो माघ, फागुन महिनामा पुनःपलाउने गर्दछ । किसानले यसको गानो खनेर सुकाएपछि बिक्री वितरण गर्दै आएका छन् । बिरुवा रोपेको दुईदेखि तीन वर्षमा सतुवा फुल्छ । फुलेर दाना झरेपछि एउटै बोटबाट ५० देखि सयसम्म बिरुवा उत्पादन हुने किसानको भनाइ छ । 

यसको जमिनमुनिको गानो अदुवा जस्तै देखिन्छ । प्रायः एउटा बोटबाट एउटा मात्र डाँठ निस्कने भए पनि फस्टाएको बोटले धेरै वटासम्म ठाँड दिने गर्दछ । सतुवा खेतीबाट राम्रो आम्दानी लिन सकिने टेम्केमैयुङ गाउँपालिका किसान एकराज विष्टले बताए । अघिल्ला वर्षको तुलनामा मूल्यमा  केही गिरावट आए पनि किसानले भने खेती गर्न नछाडेको उनको भनाइ छ । आफूले लामो समय विदेशमा बिताएर आएर सतुवा खेतीमा लागेको उनको भनाइ छ ।

‘किसानहरुमा सतुवाखेतीमा आकर्षण बढेको छ’, उनले भने, ‘गाउँघरमा प्रायः धेरैले यसको खेती गरिरहेका छन् । पछिल्लो समयमा मूल्यमा केही गिरावट आए पनि अन्य बालीको तुलनामा आम्दानी राम्रो छ । आफूले खान पनि सतुवालाई लाभदायक मानिन्छ ।’ विदेशमा भन्दा स्वदेशमा मेहनत गर्न सके यही राम्रो आम्दानी लिन सकिने विष्टको भनाइ छ । अहिले आफूले सतुवासँगै व्यावसायिक रुपमा किबी खेती समेत गरिरहेको विष्टले बताए । 

सुतवा जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा र वडा नं ५ को माथिल्लो भेग, भोजपुर नगरपालिका–२ हेलौँछा, षडानन्द नगरपालिका–९ किमालुङ र वडा नं– १० बोयाको माथिल्लो भेग र आमचोक गाउँपालिका–४ र साल्पासिलिछो गाउँपालिका–४ खाटम्मा लगायतमा किसानले व्यावसायिक खेती गर्दै आएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७