क्षतिको मूल्याङ्कन र पुनर्निर्माण तीव्र रुपमा अगाडि बढ्छ : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढी–पहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८औं बैठकमा गृहमन्त्री लेखकले विपद्बाट भएको क्षतिको मूल्याङ्कन र पुनर्निर्माण तीव्र रुपमा अगाडि बढ्ने बताएका हुन् ।
‘डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा बाढी पहिरोले उत्पन्न विपद्बाट भएको क्षतिबारे विपद् क्षतिको मूल्याङ्कन (डिडिए)को काम सुरु गर्ने र डिडिए भइसकेको ठाउँमा पुनर्निर्माणको अगाडि बढाउने आजको बैठकले निर्णय गरेको छ’, उनले भने ।
विपद् क्षतिको मूल्याङ्कन भइसकेको ठाउँमा पुनर्निर्माणका लागि आवश्यक कानुनी र आर्थिक विषयमा निर्णय भएको गृहमन्त्री लेखकले बताए । ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी मापदण्ड केही समयअघि पारित भइसकेको छ । सोहीसम्बन्धी कार्यविधि आज पारित गरेका छौँ । आगामी माघ तेस्रो साताबाट जाजरकोट भूकम्पको विपद् क्षतिको मूल्याङ्कन सुरु हुनेछ’, उनले भने ।
उक्त निर्णय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकमा प्रस्तुत गर्ने उनको भनाइ छ । गृहमन्त्री लेखकका अनुसार आज साँझ ७ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बस्दैछ । आजको परिषद् बैठकले निर्णय गरिसकेपछि पुनर्निर्माणको कामले तीव्रता पाउने मन्त्री लेखकको भनाइ छ ।