प्रचण्ड नेतृत्वको सरकार ‘असफलताको नमूना’ : प्रधानमन्त्री ओली
काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारलाई असफलताको नमूना भएको टिप्पणी गरेका छन् ।
केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले प्रचण्ड नेतृत्वको सरकारले राजनीतिक स्थिरता, सुशासन, र विकासमा नकारात्मक असर पारेको आरोप लगाएका छन् । ओलीले प्रतिवेदनमा भनेका छन्, ‘प्रचण्ड नेतृत्वको सरकार भ्रष्टाचार र अव्यवस्थाको प्रतीक बन्यो । सुशासन र पारदर्शिताको मर्मलाई कुल्चिएर ठूला भ्रष्टाचार प्रकरणहरूलाई ढाकछोप गर्न खोजियो । त्यो सरकारको अक्षम व्यवस्थापनले देशमा राजनीतिक अस्थिरता थपेको छ । जनता निराश भएका छन् ।’
ओलीले प्रचण्ड नेतृत्वको सरकार भ्रष्टाचार नियन्त्रणमा पूर्ण असफल भएको आरोप लगाएका छन् । उनका अनुसार प्रचण्ड सरकारले भ्रष्टाचारविरुद्धको अभियानलाई प्राथमिकता दिनुपर्नेमा उल्टो ठूला भ्रष्टाचार प्रकरणहरू दबाउने खेलमा लाग्यो । ‘यसले लोकतन्त्रको मूल्य मान्यतामा गम्भीर चोट पुर्यायो’ उनले भने ।
ओलीले दाहाल सरकार जनताका अपेक्षा पूरा गर्न नसकेको र व्यक्तिगत तथा पार्टीगत स्वार्थमा सीमित रहेको उल्लेख गरे । ‘यो सरकारले जनताका लागि होइन, सत्ताको लागि मात्र काम गर्यो । सुशासन र विकासलाई प्राथमिकता दिनुपर्नेमा सरकार व्यक्तिगत स्वार्थको चक्रव्यूहमा अल्झियो,’ उनले भने । ओलीका अनुसार दाहाल नेतृत्वको सरकारले गरेका निर्णयहरूले देशलाई स्थिरता दिनेभन्दा अस्थिरतामा धकेल्यो । ‘जनताले स्थिरता, सुशासन, र विकासको अपेक्षा गरेका थिए, तर ती अपेक्षामाथि यो सरकारले प्रहार गर्यो ।’