कोसी प्रदेशविरुद्ध माओवादीको उग्र जातीयतावादी र राजावादीसँग मोर्चाबन्दी छ : एमाले
काठमाडौं । सत्तारुढ नेकपा एमालेले कोसी प्रदेशविरुद्धमा माओवादीले उग्र जातीयतावादी र राजावादीसँग मोर्चाबन्दी गरिरहेको ठहर गरेको छ । च्यासलमा जारी एमाले केन्द्रीय समिति बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्रले कोसीमा पूर्व राजावादीहरूसँग बाक्लै उठबस गरिरहेको उल्लेख गरिएको छ ।
‘असार ३० साँझसम्म प्रधानमन्त्रीकै कुर्चीमा रहेका र कुर्चीमा रहँदासम्म ‘देश समृद्ध बन्दै गरेको’, अर्थतन्त्र लयमा फर्किएको’ र ‘निराशाको मात्रै कुरा गर्न नहुने’ भाषण गरिरहेका ‘प्रचण्ड’ बाट सरकारबाट हटेको दुई साता नबित्दै संसदको रोष्ट्रमबाट नेपाल ‘बङ्गलादेश’ जस्तै बन्ने अभिव्यक्ति आयो।’
राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘यो अत्यन्त गैरजिम्मेवार, गैर–कुटनीतिक र अशोभनीय टिप्पणी मात्रै थिएन, राजनीतिक अवसरवादको भद्दा नमूना पनि थियो । आज माओवादी–केन्द्र एक वर्ष अगाडि आफ्नै प्रदेशसभा सदस्यहरूको समेत सहभागितामा नामाकरण गरिएको ‘कोशी’ को विरुद्ध उग्र जातीयतावादी समूहहरूसँग मोर्चाबन्दी गरिरहेको छ ।’
माओवादी केन्द्रले पछिल्लो समयमा संविधानको उलंङ्घन गर्दै पार्टीका कार्यक्रममा कोशी प्रदेश नलेखेर प्रदेश १ लेख्ने गरेको छ । अन्नपूर्ण पोस्ट्लाई प्राप्त राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्र प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र हिजो आफ्नै कार्यकालमा भएको बीआरआई सम्झौतालाई समेत विवादित बनाउन उद्दत देखिएको उल्लेख छ।
‘माओवादी केन्द्र राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पु¥्याउन उद्धत देखिएको छ । पूर्व राजावादीहरूसँग बाक्लै बसाउठी गरिरहेको छ । सरकारमा रहँदा आफैँले कार्बाही गरेका व्यक्तिहरू र समूहको खुल्ला समर्थनमा उत्रिएको छ ।’ राजनीतिक प्रतिवेदनमा भनिएको छ, प्रधानमन्त्रीको चीन भ्रमण र हिजो आफ्नै कार्यकालमा भएको सम्झौतालाई समेत विवादित बनाउन उद्दत देखिएको छ । यी घटनाक्रमहरू माओवादी केन्द्रमा गहिरिंदै गरेको वैचारिक विचलन, राजनीतिक अस्थिरता, अवसरवाद र सरकारबाट बाहिरिनु परेका पीडाका अभिव्यक्ति हुन् ।’