प्रचण्डको प्रश्न : भ्रष्टाचारविरुद्ध जसरी जानुपर्ने हो, त्यसरी गएका छौं त ?


१३:३७ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्ध सबै एक हुनुपर्ने बताएका छन् । आज (शुक्रबार) नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको नव निर्वाचित कार्य समितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताए ।

उनले आफू भावुक प्रकृतिको भएकाले कहिलेकाहीं आफूले बोलेका शब्द तलमाथि पर्नसक्ने बताए । उनले आफू सरकारमा हुँदा र नहुँदा पनि एउटै कुरा गरेको तर कहिलेकाहीं भावुक हुँदा शब्द तलमाथि पर्न जाने गरेको बताएका हुन् ।

‘मैले सरकारमा हुँदा जे बोलेको थिएँ, जे गरेको थिएँ, अहिले बाहिर आउँदा पनि मैले त्यही बोलेको छु भन्ने मेरो विश्वास छ । कहिलेकाहीं शब्द तलमाथि पर्नसक्छ, किनभने म अलि भावुक छु भन्ने नेपाली समाजले बुझिसकेको छ । तर मेरो नियत र निष्ठा सफा छ भन्ने कुरा अब बिस्तारै जनताले र सबै साथीले बुझ्दै जानु भएको छ’, उनले भने ।

सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा एक भई जानुपर्ने र एकले अर्कोलाई दोषारोपण गरेर नहुने पनि उनले बताए । ‘तर जहाँ भ्रष्टाचार भएको छ, समाजले मानेको छ, सदनमा प्रश्न उठेका छन् । गम्भीर ढंगले जनताले हेर्न चाहेका छन् । इमान्दारिताका साथ अनुसन्धानमा लाग्न जरुरी छ । सहमति त्यसको निम्ति हुनुपर्छ’, उनले भने ।

उनले भने, ‘नेपाली जनताले राजनीतिक दलहरूबाट, सरकारबाट त्यो महसुस गरेको छ त ?’ उनले आफू प्रधानमन्त्री हुँदा पछिल्लो कार्यकालमा भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायको पक्षमा र आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारितापूर्वक काम गरेको पनि बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७