कहाँ पुग्यो वामदेव गौतम एकीकृत समाजवादीमा प्रवेश गर्ने प्रक्रिया ?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया सुरु भएको छ। दुवै पार्टीका तर्फबाट कार्यदल गठन गरी एकताका लागि वैचारिक दृष्टिकोण, कार्यदिशा, व्यवस्थापकीय जिम्मेवारीलगायत विषयमा सम्पूर्ण खाका तयार पार्न लागिएको हो ।
जनताको बहुदलीय जनवादलाई पार्टीको मार्गदर्शन तथा सैद्धान्तिक दृष्टिकोण हुनुपर्ने मूल विषयलाई एकता राष्ट्रिय अभियानले प्रस्ताव गरेको छ । एकीकृत समाजवादीले अगाडि सारेको २१औँ शताब्दीको समाजवादी कार्यक्रममा केही बुँदा थपघट गरी जनताको बहुदलीय जनवादलाई समेट्न सकिने जनाइएको छ ।
पार्टी प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले एकता प्रक्रियालाई दीर्घकालीन बनाउन दुवै पार्टीका शीर्षनेताहरूबीच अनौपचारिक भेटघाट तथा छलफल समेत गरिएको जानकारी दिए । सोही छलफलका निष्कर्षका आधारमा एकता प्रक्रियालाई टुङ्गो लगाइने जनाइएको छ ।
समान राजनीतिक दृष्टिकोण राख्ने दल तथा वैचारिक रूपमा निकट समूहलाई एकीकृत गरी कम्युनिष्ट आदर्श तथा कम्युनिष्ट आन्दोलनलाई थप सशक्त बनाउने कार्ययोजना एकीकृत समाजवादीले हालै सम्पन्न महाधिवेशनबाट पारित गरेको छ । पछिल्लो समय एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अभियानका संयोजक वामदेव गौतमबीच भएको छलफलपछि एकता प्रक्रियालाई अगाडि बढाउन समझदारी भएको हो ।