को के गर्दैछन् पुराना चलचित्रकर्मी ?


२०८१ पौष १२ शुक्रबार ०१:३१ बजे

काठमाडौं । अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेको छ । डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज, व्यवस्थित भएको छ । यसले प्रिन्ट लिएर चलचित्र भवन पुग्नुपर्ने प्रावधान हटाएर एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्न सक्ने स्थिति बनायो । पछिल्लो समय प्रविधिकै सहायताले नेपालमात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेको छ ।

प्राविधिक रूपमा सहजता बढेसँगै पुराना चलचित्रकर्मीको उपस्थिति कम देखिएको छ । निर्देशक तुलसी घिमिरे, दयाराम दाहाल, दीपक श्रेष्ठ, नरेश पौड्याल, प्रदीप श्रेष्ठलगायत प्रसिद्ध निर्देशकले कामलाई निरन्तरता दिन सकेका छैनन् । डिजिटल प्रविधिमा चलचित्रको निर्माण सुरु भएपछि उनीहरूको काम संख्यात्मक हिसाबमा कम भएको पाइन्छ ।

गत वर्ष २०८० साल पुसमा दर्शकमाझ चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ ल्याएका निर्देशक दीपक श्रेष्ठले केही समय विविध कारणले विश्राम भएको बताएका थिए । यद्यपि, उनले चलचित्र निर्देशनलाई निरन्तरता दिन सकेका छैनन् । ‘अहिले चलचित्र बनाउनभन्दा दर्शकसम्म पु¥याउन कठिनाइ भएको पाइन्छ’, उनले भने ।

निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेको पछिल्लो चलचित्र ‘उपहार’ हो । उनले पछिल्लो समय केही नयाँ चलचित्रको काम गरिरहेको बताए । ‘अहिलेको प्रविधिअनुसार चलचित्र निर्माण गर्नुका साथै दर्शक सुहाउँदो प्रस्तुति चाहिन्छ । हामीले दशक आगाडिको शैलीमै काम गर्‍र्यौ भने अहिले दर्शकले बेवास्ता गर्छन् । म अन्य चलचित्रकर्मीलाई पनि आफूलाई रूपान्तरण गरेर नयाँ सोचका साथ चलचित्रकर्ममा फर्किन आग्रह गर्छु’, निर्देशक देउजाले भने । उनले विसं २०७९ मा ‘झिङ्गेदाउँ’ मार्फत निर्देशनमा पुनरागमन गरेका थिए । त्यसपछि उनी चलचित्रको कामलाई निरन्तरता दिने बताउँछन् । तर, उनका समकक्षी चलचित्रकर्मीको सक्रियता घटिरहेको छ । 

‘अजम्बरी नाता’, ‘डर’, ‘दुई पल’लगायत चलचित्र निर्देशन गरेका निर्देशक प्रदीप श्रेष्ठले नयाँ चलचित्रको तयारी गरेता पनि त्यसलाई पूर्णता दिन सकेका छैनन् । ‘अहिले चलचित्रको लागत बढेको छ । बजारभन्दा बढी लागत गरेर चलचित्र निर्माण गर्न सहज छैन । सोही कारण पनि पुराना चलचित्रकर्मीले निनान्तरता दिन सहज नभएको हो’, निर्देशक श्रेष्ठले भने, ‘अहिले कलाकारको पारिश्रमिक नै कुल बजेटको ५० प्रतिशतभन्दा बढी हुन्छ । मैले केही वर्षदेखि तयारी गरिरहेको छु, तर काम सुरु गर्न विविध कारणले ढिलाइ भइरहेको छ ।’

डिजिटल प्रविधिसँगै प्राप्त सहजतासँगै प्रचारप्रसारमा परिवर्तन भएको शैली, नयाँ पुस्ताका कलाकारले गर्ने अविश्वास, बढ्दो लागतलगायत समस्याले अहिले लगानी असुरक्षित हुने गरेको पुराना चलचित्रकर्मीहरूको निष्कर्ष थियो । यद्यपि, चलचित्र निर्माण गर्ने तयारी भने उनीहरूले छाडेका छैनन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७