कृष्ण सिटौलाको दावी : देश विकासका लागि कांग्रेसले जति काम अरु कुनै पार्टीले गरेको छैन
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देश विकासका लागि नेपाली कांग्रेसले जति काम अरु कुनै पनि पार्टीले नगरेको दावी गरेका छन् । आज (बुधबार) काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १०० दिने पार्टी सुदृढीकरण कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो दावी गरेका हुन् ।
उनले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको बताए । उनले संविधान सभाको कुरा नेपाली कांग्रेसले २००७ सालमै उठाएको दाबी गरे । उनले नेपाली कांग्रेसकै पहलमा जनताले प्रथम जननिर्वाचित प्रधानमन्त्री पाएको उल्लेख गरे। निरंकुश राणा साशनको अन्त्यदेखि दरबारिया व्यवस्थाको विरुद्ध कांग्रेसले निरन्तर संघर्ष गरेर लोकतन्त्र ल्याइएको बताए ।
उनले भने, ‘८० वर्षको इतिहासमा कति ठिक, कति बेठिक भएको होला । तर समग्रमा हामीले मूल्याङ्कन गर्ने हो भने जनताको अधिकारको लागि, देशको विकासको लागि, जनताको आर्थिक प्रगतिको लागि नेपाली कांग्रेस पार्टीले जे जति काम गरेको छ अरु कुनै पनि पार्टीले त्यति काम गरेको छैन । यो त दाबाका साथ हामी भन्छौं । संविधान सभाको कुरा २००७ सालमै नेपाली काँग्रेसले उठाएको कुरा हो । पहिलो पटक जनताले निर्वाचित गरेको प्रधानमन्त्री जनताले पाए । त्यो नेपाली काँग्रेसकै पहलमा भएको हो । तर २०१७ साल पुस १ गते संविधान च्यातेर सेना लगाएर टुँडिखेलबाट पक्राउ गरेर लगे प्रधानमन्त्रीलाई । पार्लियामेन्ट भंग भयो । फेरि बहुदलीय लोकतन्त्र भंग गरेर अर्को संविधान जारी गरे । दरबारिया व्यवस्था । त्यो विरुद्ध हामीले निरन्तर संघर्ष गर्यौं ।’