अब जनताको अवस्था परिवर्तनमा ध्यान दिनुपर्छ : उपमहासचिव ज्ञवाली
काठमाडौं । सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले विभिन्न आन्दोलनपछि मुलुकको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था भने परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन् । रामप्रसाद राई स्मृति प्रतिष्ठानले आज (सोमबार) काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै ज्ञवालीले मुलुकको व्यवस्था परिवर्तनसँगै अब जनताको अवस्था परिवर्तनमा ध्यान दिनुपर्ने समेत बताए ।
तीन–तीनवटा ठूला परिवर्तनपश्चात पनि जनतामा देखिएका गुनासालाई सम्बोधन गर्नुपर्ने उनले बताए । ज्ञवालीले विभिन्न आन्दोलनपछि मुलुक र जनताको अवस्थामा केही सुधार भए पनि क्रान्तिले लिएको लक्ष्यसम्म भने पुग्न नसकिएको बताए। परिवर्तनका शक्तिहरूले आफूलाई नियाल्दै आफ्ना काम–क्रियाकलापहरूलाई जनताको जीवनस्तरसँग जोड्न सक्नुपर्ने उनले बताए ।
ज्ञवालीले ७ सालदेखिका क्रान्तिका अभिभाराहरूलाई मुलुकको विकाससँगै जनमुखी कार्यक्रम ल्याएर पुरा गर्न सक्नु पर्नेमा जोड दिए । उनले २००७ सालको राणाविरुद्धको क्रान्तिमा नेतृत्व गरेका रामप्रसाद राईका अधुरो सपनाहरूलाई साकार पार्दै अघि बढ्नुपर्ने उल्लेख गरे ।