काभ्रेका खानेपानी आयोजना पुनर्निर्माणमा  एडिबीले सहयोग  गर्ने


२०८१ मङ्सिर ११ मंगलबार १४:१४ बजे

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका तीन पुराना नगरका लागि निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त भएपछि एसियाली विकास बैंक (एडिबी) ले पुनर्निर्माणमा सहयोग गर्ने भएको छ । एडिबीका देशीय निर्देशक अनौड कौकोइससहिका पदाधिकारी तथा खानोपानी आयोजनाको बोर्ड अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जूको टोलीसँग सोमबार भएको छलफलपछि आयोजना पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्ध जनाइएको हो । 

निर्माणाधीन आयोजनाको अन्तिम चरणमा बाढीपहिरोले क्षतिग्रस्त बनाएको थियो । आयोजना पुनर्निर्माणका लागि एडिबीले सहयोगको प्रतिबद्धता जनाएको नगर प्रमुख ब्याञ्जूले जानकारी दिए । उनका अनुसार एडिबीले यस खानेपानी आयोजना पुनर्निर्माण गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिदिने र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको हो । बाढी पहिरोबाट आयोजनाको इन्टेकलगायत अन्य ट्याङ्की तथा वितरण मेनलाई एवं शाखाका पाइप लाइनमा क्षति पुर्‍याउँदा २१ करोड ८० लाख बराबरको खानेपानीको संरचना नष्ट भएको ब्याञ्जूले बताए ।

धुलिखेल, बनेपा र पनौती नगरपालिकामा खानेपानी समस्या समाधानार्थ सन् २०१२ मा उक्त आयोजना सुरु गरिएको थियो । सम्पन्नको अन्तिम चरणमा रहेको आयोजना गत आसोज ११ देखि १२ गतेको वर्षासँगै आएको बाढीपहिरोले क्षतिग्रस्त बनाएको हो । उक्त आयोजनाबाट सन् २०२४ सम्ममा तीन नगरका एक लाख ४० हजार जना लाभान्वित हुने समेत प्रक्षेपण गरिएको छ । आयोजनाबाट तीन नगरका स्थानीयका घरघरमा चौबीसै घण्टा स्वच्छ खानेपानी खानेपानी पुर्याउने जनाइएको छ ।

आयोजनाको लागत मूल्य भ्याटबाहेक ९९ करोड आठ लाख सात हजार रहेको छ । यस आयोजनालाई तत्कालीन अवस्थामा एडिबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाका रूपमा हेरिएको थियो । यसैबीच बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणका लागि जर्मन सरकारले सहयोग गर्ने भएको छ । नगरले यही कात्तिक पहिलो साता नेपालका लागि जर्मनी राजदूत डा थोमस प्रिन्जसँग भेट गरी क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणका लागि प्रस्ताव गरेपछि जर्मन सहयोग नियोग (जिआइजेड) मार्फत नेपालस्थित दूतावासले रु एक करोड ४५ लाख रकम सहयोग गर्ने सहमति भएको हो ।

जर्मन सरकारबाट प्रस्तावको कार्यान्वयन भएको नगर प्रमुख अशोक ब्याञ्जूले बताए । उनका अनुसार राजदूत प्रिन्जले आयोजनाका द्विपक्षीय सम्झौता गरी रकम निकासा गर्नेछन् । करिब तीन दशक अघिदेखि सञ्चालित उक्त खानेपानी आयोजनाको पुनर्निर्माण गर्न रु तीन करोड ५१ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको ब्याञ्जूले बताए । जर्मनबाट सहयोग प्राप्त उक्त रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनर्निर्माण गरिने जनाइएको छ। गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको ३, ४, ५, ६ र ८ वडाका उपभोक्ता एक महिनादेखि खानेपानीविहीन अवस्थामा छन् । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७