मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई दुई लाख दिइने


२०८१ मङ्सिर ९ आइतबार १८:२७ बजे

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अङ्ग दान गर्न चाहने दाताका परिवारलाई दुई लाख सहयोग गर्ने निर्णय गरेका छन् । यसअघि मानवअंग दान गर्न चाहने त्यस्ता परिवारलाई एक लाख रुपैयाँ दिइन्थ्यो । भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका परिवारलाई एक लाख थप गर्ने निर्णय मन्त्री पौडेलले गरेका हुन् ।

मन्त्री पौडेलको निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको छ । मन्त्रालयको आन्तरिक श्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको मन्त्री पौडेलले बताए । अङ्ग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ पुर्‍याएको  छ।

‘आफ्नो मृत्युपछि अरूको जीवन बचाउन चाहनेलाई प्रोत्साहन गर्न खोजेका हौँ,  एउटाको जीवनपछि अरूको जीवन बचाउने कार्यमा यस निर्णयले व्यापकता पाउने आशा गरेका छौं’, मन्त्री पौडेलले भने । मन्त्री पौडेल स्वयंले समेत यसअघि नै अंगदान गर्ने घोषणा गरिसकेका छन् । देशभर हरेक वर्ष मृगौला प्राप्तिका लागि एक हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अङ्ग प्रत्यारोपण केन्द्रमा नाम लेखाउने गरेका छन् ।

विद्यमान कानूनी व्यवस्थाअनुसार जीवित रगतको नाता पर्ने बाहेकले अंगदान गर्न पाउँदैनन् । तर, मृत्युपश्चात् दान दिने गरी अंगदान गर्न पाउने व्यवस्था छ । मृत्यु भएको २४ घण्टाभित्र दिन सकिने अङ्ग अरु जीवितलाई प्रत्यारोपण गर्न सकिन्छ । हाल भक्तपुरको शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रले देशमा वर्षेनी दुई सय मृगौला तथा २० जनाको कलेजो प्रत्यारोपण गर्दै आएको छ । यो कुल अङ्ग प्रत्यारोपणको झण्डै ७० प्रतिशत हो। वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालसँगै केही निजी अस्पतालले समेत अङ्ग प्रत्यारोपण गर्दै आइरहेका छन् । हाल सचेतना अभावमा दान गर्न चाहनेको संख्या न्यून छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७