मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु, दुई छोरा घाइते
उदयपुर । उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना हुँदा बाबुको मृत्यु भएको छ भने दुई छोरा घाइते भएका छन् ।बुधबार साँझ भएको दुर्घटनामा त्रियुगा नगरपालिका–१३ का ४५ वर्षीय महादेव चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी राजन चापागाईंले जानकारी दिए ।
मध्यपहाडी राजमार्गमा पर्ने त्रियुगा नगरपालिका १३ मा पर्ने दनुवारी चोकमा विपरित दिशाबाट आउँदै गरेको स १ त ५७४२ नम्बरको ट्याक्टरसँग प्र १–०५–००१ प ४२७३ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको डीएसपी चापागाईले बताए । घाइते दुई छोराको अवस्था खतरामुक्त रहेको पनि उनले जानकारी दिए।
दुर्घटनामा ज्यान गुमाउने चौधरीका छोराहरु १५ वर्षीय दिवाकर चौधरी र १० वर्षीय कृष्ण चौधरीलाई जिल्ला अस्पताल गाईघाटमा सामान्य उपचारपछि गए राति नै थप उपचारको लागि विराटनगर पठाइएको छ । दुई छोरालाई मोटरसाइकलको पछाडि राखेर गाईघाटबाट घर जाँदै गर्दा उनी दुर्घटनामा परेका हुन् । तीव्र गतिको कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनापछि ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिउको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताको शवगृहमा राखिएको छ ।