‘कान्छाराम कन्स्ट्रक्सन’ मा मेरो आवद्धता देखिए राजनीति नै त्याग्छु : राज्यमन्त्री तामाङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले ‘कान्छाराम कन्स्ट्रक्सन’ दुई वर्षअघि नै छाडेको बताएका छन् । भ्रष्टाचार निवारण ऐन संशोधनसम्बन्धी राज्य व्यवस्था समितिमा आज (शुक्रबार) भएको छलफलमा महामन्त्री विश्वप्रकाश शर्माले रामेछाप कांग्रेसको सभापति समेत रहेका राज्यमन्त्री तामाङको कम्पनी कालोसूचीमा गएको विषयमा प्रश्न उठाएका थिए ।
महामन्त्री शर्माले ऊर्जा राज्यमन्त्रीको कम्पनी कालोसूचीमा परेको कुरा आएको भन्दै मन्त्रीले स्पष्ट पार्नुपर्ने माग गरेका थिए । राज्यमन्त्री तामाङले महामन्त्री शर्माको प्रश्नको जवाफ दिँदै ‘कान्छाराम कन्स्ट्रक्सन’ कम्पनी साढे दुई वर्षअघि नै छाडेको स्पष्टीकरण दिएका हुन् । उनले पार्टीले विश्वास गरेर पठाएर नै कानुनअनुसार राज्यमन्त्री भएको बताए । उनले देशको कानुनले आबद्धता नभएको कम्पनी कालोसूचीमा पर्दा मन्त्री छाडेर पुरानै पेसामा फर्कन सक्ने बताए ।
राज्यमन्त्री तामाङले थपे ,‘कान्छाराम कन्स्ट्रक्सन प्रालि मैले दुई वर्षअघि छोडेर बसेको व्यक्ति हुँ । म अहिले ऊर्जा राज्यमन्त्री छु । कानुनले भन्छ भने एक मिनेटमा मन्त्री छाडेर पेसा र व्यवसाय र परिवारसँग काम गर्न तयारी छु । पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले प्रश्न उठाउनु भयो । मेरो कम्पनी २०४४ साल माघ १९ मा दर्ता गरेको हो । साढे दुई वर्षअघि त्यो पेसा छाडेर बाहिर छु । अहिले कानुन‚ नीति नियम र संविधानले कम्पनीमा आबद्धता ठहर भयो भने राजनीतिबाट बाहिर जान तयार छु ।’
उनले २०७९ को सांसदको टिकट पाउनुभन्दा पहिला नै कम्पनी छोडेको बताए । उनले उक्त कन्स्ट्रक्सनमा आबद्ध भएको भेटिए राजनीति छोड्न तयार रहेको बताएका छन् । उनले समितिमा बोल्दै भ्रष्टाचार निवारण ऐनको संशोधनमा अख्तियारमा उजुरी दिन नागरिकताको फोटोकपी अनिवार्य गर्न माग गरे ।