रवि अदालतमा, कार्यकर्ता–समर्थक पोखराका सडकमा
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले थप २५ दिनको म्याद मागेको छ । कास्की जिल्ला अदालतमा लामिछानेको म्याद थपबारेको बहस न्यायाधीश नवराज दाहालको १ नम्बर इजलासमा जारी छ ।
लामिछानेलाई चौंथो पटक म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेलाई तेस्रो पटक कार्तिक २० गते अदालत पेश गरिएको थियो । त्यो दिन प्रहरीले कार्तिक १४ गतेदेखि लागू हुने गरी १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरीले म्याद पाएकोमा उक्त म्याद आज सकिएको हो ।
रविलाई कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ गरिएको थियो । भोलिपल्ट बिहानपख उनलाई सडकमार्ग हुँदै पोखरा ल्याइपुर्याइएको हो । कात्तिक ४ गते जिल्ला अदालत कास्की पेश गरिएकोमा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई सुरुमा ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो।
त्यसपछि दोस्रो पटक ७ दिनको म्याद थपिएकोमा पछिल्लो पटक १० दिन थपिएको हो । रविलाई अदालत लगिएसँगै रास्वपाका कार्यकर्ता–समर्थकहरू सडक प्रदर्शनमा उत्रिएका हुन् । पोखराको सडकमा उत्रिएका प्रदर्शनकारीहरूले ‘प्रतिशोध साँध्न पाइँदैन’, ‘असली सहकारी ठगलाई कारबाही गर’ लगायतका नारा लगाइरहेका छन् । रास्वपाको हिजो (शनिबार) बसेको केन्द्रीय समिति बैठकले दोस्रो चरणको आन्दोलन अझै चर्काउने निर्णय गरेको थियो ।