इरानले भन्यो –मध्यपूर्व भन्दा बाहिर युद्ध विस्तारको खतरा छ


१२:२५ बजे

काठमाडौं । इजरायलले तेहरान समर्थित समूहसँग लडिरहेको ‘गाजा र लेबनानमा जारी युद्ध मध्यपूर्वभन्दा बाहिर’ पनि फैलन सक्ने इरानले बताएको छ । इरानका विदेशमन्त्री अब्बास अरागचीले युद्ध लम्बिँदै जाँदा यसको भौगोलिक रूपमा विस्तार पनि हुने खतरा बढ्दै गएको बताएका हुन् । 

‘युद्धको विस्तार र असर पश्चिम एशिया क्षेत्रमा मात्र सीमित छैन, असुरक्षा र अस्थिरता अझ टाढासम्म अन्य क्षेत्रहरूमा पनि फैलन सक्छ भनने विश्वले बुझ्नुपर्छ’, अरागचीले सरकारी टिभीमा प्रशारित एक सम्बोधनमा भने । सन् २०२३ को अक्टोबर ७ मा प्यालेष्टिनी इस्लामिक समूह हमासले इजरायलमाथि आक्रमण गरेयता इरानसमर्थित प्यालेस्टिनी लडाकू समूह हमासविरुद्ध इजरायलले गाजा पट्टीमा युद्ध जारी राखेको छ ।

इजरायलले हालै लेबनानमा आफ्नो ध्यान केन्द्रित गरेको छ । इजरायलले लेबनानी लडाकू समूह हिजबुल्लाहसँग सेप्टेम्बरदेखि प्रत्यक्ष युद्ध सुरू गरेको छ । हिजबुल्लाह समूहलाई इरानको आर्थिक र सैन्य समर्थन रहाँदै आएको छ ।

तेहरानले अक्टोबर १ मा इजरायलमाथि गरेको आक्रमणको जवाफमा इजरायलले २६ अक्टोबरमा इरानका सैन्य स्थलहरूमा हवाई आक्रमण गरेको थियो । अक्टोबर २६ मा इजरायलले गरेको आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै राडार प्रणालीमा ‘सीमित क्षति’ पुगेको इरानी अधिकारीहरूले बताएका छन् । इरानी सञ्चारमाध्यमका अनुसार आक्रमणबाट एक जना सर्वसाधारणको पनि मृत्यु भएको छ । अमेरिका र इजरायलद्वारा जवाफी कारबाही भएमा इरानले त्यसको नराम्रो नतिजा भोग्नुपर्ने चेतावनीका बावजुद् पनि तेहरानले प्रतिकार गर्ने जनाएको छ ।

इरानका राष्ट्रपति मसूद पेजेस्कियानले गाजा र लेबनानमा सम्भावित युद्धविरामले इरानको प्रतिक्रियामा असर पार्न सक्ने बताएका छन् । ‘यदि उनी (इजरायली) हरूले युद्धविराम स्वीकार गरेनन् र यस क्षेत्रका उत्पीडित र निर्दोष मानिसहरूको नरसंहार बन्द गरेनन् भने यसले हाम्रो प्रतिक्रियाको तीव्रता र प्रकारलाई आवश्यक गर्न सक्छ’, पेजेस्कियानले यसै महिनाको सुरुमा भनेका थिए । 

बिहीबार इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका सल्लाहकारले इजरायललाई आवेगपूर्ण प्रतिक्रिया नदिन चेतावनी दिएका थिए । सल्लाहकार अली लारिजानीले सरकारी टेलिभिजनसँग भने, ‘इजरायलले इरानमा द्वन्द्व ल्याउने लक्ष्य राखेको छ । हामीले यसको पासोबाट बच्न बुद्धिमानीपूर्वक काम गर्नुपर्छ र सामान्य अवस्थामा प्रतिक्रिया जनाउनु हुँदैन ।’ रासस / एएफपी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७