अमेरिकी राष्ट्रपति निर्वाचन : प्रारम्भिक नतिजामा ट्रम्प अगाडि
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक मत गणनामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता बनाएका छन् । ट्रम्पले ९९ स्थानमा र डेमोक्रयाट उम्मेदवार कमला ह्यारिसले २५ स्थानमा अग्रता लिएकी छन् । राष्ट्रपति निर्वाचनका लागि मंगलबार मतदान भएको थियो ।
निर्वाचनमा पूर्व राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा देखिएको छ । केही मत सर्वेक्षणमा ह्यारिस ट्रम्पभन्दा थोरै अगाडि हुने नतिजा सार्वजनिक भएको छ ।
धेरै राज्यहरूमा मतदान समाप्त
अमेरिकामा राष्ट्रपतीय निर्वाचन अन्तर्गत धेरै राज्यमा मतदान सकिएको छ । यस चुनावमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबिच कडा प्रतिस्पर्धा छ । राष्ट्रपति चुनावअघिको सर्वेक्षणले कमला ह्यारिस र डोनाल्ड ट्रम्पबिच कडा प्रतिस्पर्धा देखाएको छ । अहिलेसम्मका महत्वपूर्ण अपडेटहरु जान्नुहोस् :
केन्टकी, इन्डियाना, साउथ क्यारोलिना, भर्मन्ट, भर्जिनिया र महत्वपूर्ण युद्धभूमि राज्य जर्जियामा मतदान सकिएको छ जसले राष्ट्रपति चुनावको नतिजा तय गर्नेछ ।
कमला ह्यारिसका समर्थकहरू वासिङ्टन डीसीको हावर्ड विश्वविद्यालय बाहिर भेला भइरहेका छन् । कमला ह्यारिसले यही विश्वविद्यालयबाट अध्ययन गरेकी हुन् र आजको चुनावी रात्रि पार्टीको स्थल पनि त्यहीँ तय भएको छ ।
डोनाल्ड ट्रम्पको चुनावी पार्टीको लागि मिडिया कार्यक्रम स्थलमा तयार छन्। समर्थक र राष्ट्रका नाममा सम्भावित सम्बोधनका लागि मञ्च बनाइएको छ ।
प्रारम्भिक एक्जिट पोलमा सोधिएका करिब तीन चौथाइले अमेरिकामा प्रजातन्त्र ‘धेरै’ वा ‘केही हदसम्म’ खतरामा रहेको ठान्छन् । १० मध्ये ७ जना मतदाताले चुनावी नतिजासँग सम्बन्धित हिंसाको अनुमान गरेका छन् ।
प्रारम्भिक एक्जिट पोलका अनुसार यो निर्वाचनमा मतदाताका लागि लोकतन्त्र र अर्थतन्त्र सबैभन्दा ठुलो मुद्दा हो ।यसअघि पनि मतदानका क्रममा धेरै केन्द्रमा बमको धम्की आएको थियो । एफबीआईले यी धेरै धम्कीहरू ‘रुसी इमेल डोमेनहरूबाट आएको देखिन्छ ।’