अध्यक्ष ढकाललाई इण्डोनेसियामा ‘करका बुवाना अवार्ड’


०९:०२ बजे

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इण्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाललाई इण्डोनेसिया सरकारले सम्मान गरेको छ । नेपाल र गणतन्त्र इण्डोनेसियाबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अध्यक्ष ढकालले निर्वाह गरेको भूमिकाको कदर गर्दै इण्डोनेसिया सरकारले विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’ बाट सम्मानित गरेको हो ।

इण्डोनेसियाको परराष्ट मन्त्रालयद्वारा प्रदान गरिएको सो अवार्ड इण्डोनेसियासँगको सम्बन्धमा उल्लेख्य भूमिका निर्वाह गर्ने विदेशी विशिष्ठ व्यक्तित्वलाई प्रदान गर्ने गरिएको मन्त्रालयले जनाएकोको प्रेसनोटमा उल्लेख छ । इण्डोनेसियाली परराष्ट्रमन्त्रीका तर्फबाट नेपालका लागि इण्डोनेसियाली राजदूत हेरु एच. सुवोलोले ढकाललाई काठमाडौँमा मंगलबार आयोजित एक कार्यक्रममा उक्त सम्मान हस्तान्तरण गरेका थिए ।

समारोहमा बोल्दै राजदूत सुवोलोले ढकालको प्रयासले दुई देशबीचको सम्बन्ध सुदृढ हुनुका साथै दुवै देशलाई आर्थिक, सांस्कृतिक र कुटनैतिक सहकार्य विस्तारमा फाइदा पुगेको बताएका छन्  । ढकालले सम्मानका लागि इण्डोनेसियाली सरकारलाई आभार व्यक्त गर्दै यस पुरस्कारले आफूलाई नेपाल र इण्डोनेसियाबीच आपसी सहकार्य, विकास र समृद्धिको लागि काम गर्न थप प्रेरणा मिलेको बताएका छन् ।

नेपाल र इण्डोनेसियाबीच हालै द्विपक्षीय परामर्श संयन्त्र तथा दुई देशका सरकारी अधिकारीहरुलाई भिषा फ्रि सम्झौता भएकोमा दुवै देशका सरकारलाई धन्यवाद दिँदै ढकालले ती सम्झौताले दुई राष्ट्रबीचको कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने, दुई देशबीच हुने सरकारी भ्रमणहरुलाई सहज बनाउनुका साथै आर्थिक तथा क्षेत्रीय सहयोगलाई आधार तयार गर्ने विश्वास व्यक्त गरे ।

उनले इण्डोनेसियाको भ्रमण गर्ने नेपाली पर्यटकहरुको संख्यामा विगत केही वर्षमा उल्लेख्य वृद्धि भएको प्रसङ्ग उल्लेख गर्दै कोरोना महामारी अघि इण्डोनेसिया जाने नेपालीहरुलाई अन अराइभल भिसा प्रदान गर्ने गरिएकोमा अहिले रोकिएकाले यसलाई पुनः सुचारु गर्न इण्डोनेसिया सरकारसँग आग्रह गरे ।

यस अघि पनि सन् २०१५ को भूकम्पको समयमा उद्दार तथा राहत प्रयासमा गरेको योगदानको कदरस्वरुप इण्डोनेसिया सरकारले ढकाललाई सम्मान गरेको थियो । ढकाल सन् २०१० देखि नेपालका लागि गणतन्त्र इण्डोनेसियाका अवैतनिक वाणिज्यदूत छन् । कार्यक्रममा विभिन्न देशका राजदूतहरु, परराष्ट्र मन्त्रालयका उच्च पदस्थ कर्मचारी तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७