राष्ट्रियसभा अध्यक्ष स्वीटजरल्याण्ड प्रस्थान गर्दै
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल नेतृत्वको टोली आज (शुक्रबार) राति अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४९ औं महासभामा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्दैछ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अध्यक्ष दाहालको नेतृत्वमा संघीय संसद्को ९ सदस्यीय टोली आईपीयू महासभामा भाग लिन जाँदैछ ।
असोज २७ देखि कार्तिक १ गतेसम्म चल्ने आईपीयूको १४९ औँ महासभामा राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा एमाले सचेतक सुनिता बराल र रास्वपा सचेतक निशा डाँगी प्रतिनिधिसभाबाट र राष्ट्रिय सभा सदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल रहेका छन् । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, संघीय संसद् सचिवालयका सहसचिव सीता वाग्ले काफ्ले, उपसचिव नमराज नगरकोटी र अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव विष्णुप्रसाद सापकोटा पनि जेनेभा जान लागेका हुन् ।
आईपीयू महासभामा राष्ट्रिय सभा अध्यक्ष दाहालले ‘शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग’ विषयक कार्यक्रमलाई नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यसूची रहेको प्रवक्ता गिरीले जानकारी दिएका छन् । सचेतकद्वय बराल र डाँगीले ‘फोरम अफ योङ पार्लियामेन्टेरियन’ र ‘फोरम अफ वूमन पार्लियामेन्टेरियन’ मा सहभागीता जनाउने छन् ।
अध्यक्ष दाहालले महासभामा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल एवं अन्तरव्यवस्थापिका संघ तथा सचिवालयका पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधिमण्डल कार्तिक ३ मा स्वदेश फर्किने कार्यकरम रहेको बताइएको छ ।