गोदावरीमा प्रकृतिको दोहन : मेयरलाई ‘श्रीमान्’ले जिताए तर २० जनाले जीवन गुमाए

गोदावरीमा प्रकृतिको मनपरी दोहनले ल्याएको त्रासदीको कथा


१८:१६ बजे

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा खनिजजन्य वस्तुको बिक्रीबाट प्राप्त हुने राजस्व हिनामिना गरेको अभियोगमा ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख, उपप्रमुख तथा ४ जना तत्कालीन प्रशासकीय अधिकृतसहित १४ विरुद्ध २१ जेठ २०८१ मा विशेष अदालतमा भ्रष्टाचारका ५ वटा मुद्दा दायर गर्यो ।

गोदावरीका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू प्रविन कोइराला, वीरेन्द्रदेव भारती, कृष्णप्रसाद जैसी र विश्वराज मरासैनीसहित १४ जनालाई १ अर्बभन्दा बढी बिगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । 

यसैगरी निराकार रोडा उद्योग र यसका सञ्चालक मधुसुदन डोटेल, मछिन्द्रनाथ मल्टीप्रपोजका सञ्चालक केदारनाथ तिमल्सेना, सजिलो रोडा ढुंगा उद्योग सञ्चालक शशिराज शाही, वीरेन्द्र महर्जन ढुंगा उद्योगका सञ्चालक वीरेन्द्र महर्जनविरुद्ध २६ करोड ६३ लाख ३७ हजार ३ सय ९८ रुपैयाँ बिगो असुल मागदाबी गरिएको थियो । 

मुलुक संघीय संरचनामा गइसकेपछि पहिलो पटक २०७४ मा स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधिहरू आएका थिए । त्यसलगत्तै गोदावरी नगरपालिकाले राष्ट्रिय र सामुदायिक वन क्षेत्रमा अनधिकृत खानी सञ्चालन भए पनि नगरपालिका र प्रशासन दुवैले अनदेखा गर्दै आएका थिए । गोदावरी नगरपालिकाले पनि निर्माण सामग्रीको करमा हिनामिना हुने गरी करका दर कम गरेर बिक्री अनुमति दिएको थियो ।

अख्तियारले आरोपी बनाएको मुख्य जिम्मेवारी अधिकारीहरु : 

 

प्रतिवादी बनाइएका वीरेन्द्र महर्जनले गोदावरी नगरपालिकाअन्तर्गत लेले नल्लु क्षेत्रको दम्सीडोल सामुदायिक वन मासेर अवैध ढुंगा उत्खनन र नल्लु खोला क्षेत्रमा क्रसर सञ्चालन गरेका छन् । त्यस्तै निराकर ढुंगा रोडा उद्योगका सञ्चालक मधुसुदन डोटेलले दम्सीडोल सामुदायिक वनमै ढुंगा उत्खनन र नल्लु खोला मिचेर क्रसर चलाएका छन् । जसका कारण नल्लु खोलाको प्राकृति बहाव परिवर्तन गर्दा नदीसमेत अतिक्रमण र दोहनमा परेको छ ।

मेयरलाई ‘श्रीमान्’ले जिताए तर

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर

यही मुद्दामा ३० साउन २०८१ मा फैसला सुनाउदै विशेष अदालतले गोदावरी नगरपालिकाका मेयर र उपमेयरसहित १४ जना प्रतिवादीलाई सफाइ दियो  । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारीसहित सबै प्रतिवादीलाई सफाइ दियो ।  

गोदावरी नगरपालिका क्षेत्रमा भइरहेको प्रकृतिको कहाली लाग्दो दोहनमा संग्लन मेयर सहित १४ जनालाई सफाई दिने नेतृत्वकर्ता हुन्, विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर । 

त्यसो त गोदावरीको मामिलामा मात्रै होइन यस्ता दर्जनौं उदाहरण छन्, कुँवर आएपछि अख्तियारले दायर गरेका ठूला भ्रष्टाचारका मुद्दामा एकपछि अर्को सफाइ दिने र साना हजार घुससहित समातिएका मुद्दामा ठहर गर्ने गरेको अभिलेख छ ।  कुँवर विशेष अदालत आएपछि भ्रष्टाचारका ठूला मुद्दामा सेटिङ गरेरै चाँडो टुंग्याएको, ठूला भ्रष्टाचारका मुद्दामा अख्तियारलाई हराएको आरोप सहित न्यायपरिषद्मा उजुरी समेत भएको छ । 

राष्ट्रिय सूचना प्रबिधि केन्द्रबाट राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे) खरिद प्रकरणमा ठाडै २५ करोड भ्रष्टाचार भएको भए पनि त्यसमा मुछिएका सचिव मधु मरासिनीसमेतलाई आर्थिक चलखेलमै ७ महिनामै फास्ट ट्रयाकमा टुंग्याउँदा पनि ठूलै चलखेल भएको समाचार सार्वजनिक भएका छन् । 

ठेकेदार बिक्रम पाण्डे र ब्यापारी पशुपति मुराराकसहितका ठूला माछा जोडिएको सिक्टा र खानी दोहनका मुद्दामा सबैलाई विशेषले सफाइ दिएको थियो । त्यस्तै, पशुपति जलहरीमा पनि विशेषले सफाइ दिएको छ ।

जलहरी प्रकरणमा मुछिएका पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापासहित डा. प्रदीप ढकाल र अरुणकुमार श्रेष्ठलाई विशेष अदालतका अध्यक्ष कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले सफाइ दिएको थियो ।

त्यसो त कुँवर विरुद्ध रोयल क्यासिनोका सञ्चालक सुरेन्द्रबहादुर सिंहविरुद्ध २७ करोड ६७ लाख बिगो कायम गरी दायर भएको मुद्दामा पनि मेलेमताको आरोपमा उजुरी दिइएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १५ कात्तिक ०७९ मा सिंहसहित उनकी श्रीमती शारदादेवी सिंह, छोरा जीवनबहादुर सिंह, कर्मचारी जयन्ती थापा र उनको कम्पनी गिल्ट इन्भेस्टमेन्ट प्रालिलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । 

जयन्ती थापामगरसमेतको मिलेमतोमा कृत्रिम आर्थिक कारोबार देखाई आर्थिक तथा कानुनी उद्देश्य लुकाउने, कारोबारमा जटिलता सिर्जना गर्नेलगायत कार्य गरी कसुर गरेको विभागको अभियोग थियो । कसुरबाट आर्जित सम्पत्ति एकाघरका परिवारका सदस्य शारदादेवी सिंह र छोरा जीवनबहादुर सिंहको नाममा राखी घरजग्गा खरिद–बिक्री गरेको तथा सम्पत्तिको स्रोत, प्रकृति र स्वरूप बदल्न विभिन्न कम्पनीमा लगानी गरेको पनि आरोपपत्रमा उल्लेख थियो ।

गत १३ वैशाख २०८१ मा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सफाइको फैसला गरेको थियो । न्यायपरिषद् स्रोतका अनुसार उजुरीमा तीनै न्यायाधीश र उनीहरूका आफन्तमाथि समेत छानबिनको माग गरिएको थियो । 

२० जनाले जीवन गुमाए

उनै विशेष अदालतका अध्यक्ष कुँवरबाट सफाई पाएका मेयर महर्जन सहित १४ जनाको समूहबाट सञ्चालित क्रसर र ढुंगा खानीबाट सुरु भएको पहिरोले गएको साता २० जनाले ज्यान गुमाएका छन् । ललितपुर जिल्ला प्रशासन कार्यालयका अधिकारीका अनुसार गोदावरीमा २० जनाको ज्यान गुमाएको छ । 

गोदावरी नगरपालिका ६ र ७ नम्बर वडामा आएको बाढी–पहिरोको मुख्य उद्गम बिन्दु उही खानीको थियो । यी दुई वडामा मात्रै १० जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ । गोदवरी ६ मा ७ जना र ७ मा तीन जनाको मृत्यु भएको छ । ललितपुरका एक अधिकारी भन्छन्, ‘गोदावरी नगरपालिकामा २० जनाको मृत्यु भएको छ । त्यसको मुख्य कारण उही क्रसर सञ्चालन र ढुंगा उत्खनन हो । त्यसको जिम्मा मेयर र मेयरलाई सही भन्ने न्यायाधीसहरुले जिम्मा लिनुपर्छ ।’

खानी व्यवसायीले लेले नल्लु क्षेत्रमा मात्रै करिब २० देखि २५ रोपनी वन मासेर क्रसर सञ्चालन र ढुंगा उत्खनन गरिरहेका छन् । दैनिक दर्जनौ एक्स्काभेटर प्रयोग गरेर निर्माणजन्य पदार्थ ओसारपसार गरिहेका छन् । अनधिकृत उद्योगबाट निस्किएका काम नलाग्ने पदार्थ नल्लु खोलामा मिसाइएको छ ।

त्यहीबाट आएको बाढीले टीकाभैरव, राधा गाउँ, गौरीगाउँका करिब डेढ सय घरधुरीको करोडौंको क्षति गरेको छ । स्थानीयहरुका अनुसार खानी उत्खननबाट निस्किएको गेग्रानले खोला भरिएको थियो । गोदावरी ६ का रामबहादुर तामाङ्ग भन्छन्, ‘त्यही गेग्रानले खोला थुन्यो, खोला बाढिको रुपमा बस्ती छिर्यो ।’ 

गोदाबरी क्षेत्रमा बाढीपहिरोको प्रमुख कारण मेयर महर्जन सहित १४ जनाको समूहबाट सञ्चालित क्रसर र ढुंगा खानी नै भएको स्थानीयहरुले बताए । यस क्षेत्रका एक अगुवाले भने, ‘मेयरलाई ‘श्रीमान्’ले जिताए तर १० जनाले जीवन गुमाए, अरबौंको क्षति भएको छ ।’

गत साता वर्षापछि आएको बाढीपहिरोका कारण २ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन् । तीन दर्जन बढी व्यक्ति अझै बेपत्ता छन् । करोडौ क्षति हुने गरी हजारौं घर बगेको छ । विद्युत्गृहरुमा क्षति पुग्दा विद्युत् उत्पादनमा नेपालको करीब आधा क्षमता गुमेको छ । 

जिल्ला प्रशासन कार्यालयका एक अधिकारी गोदावरी क्षेत्र धेरै ठाउँमा प्रकृतिको दोहनको कारण बाढी पहिरो गएको बताउछन् । उनी भन्छन्, ‘बाढीपहिरोको कारण प्रकृतिको अत्याधिक दोहन पनि भएको तथ्यहरुले पुष्टी गरीसकेको छ । यसरी प्रकृतिको दोहन गर्ने गजेन्द्र महर्जनहरुलाई टेकनारायण कुँवर ‘श्रीमान्’हरुले सफाइ दिइरहदा यस्ता घटना दोहोरीरहन्छ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७