वरिष्ठ गीतकार विश्व वल्लभलाई मस्तिष्कघात, आइसीयूमा उपचार हुँदै
काठमाडौं । चर्चित गीतकार विश्व वल्लभलाई मस्तिष्क घात भएको छ । थापाथलीस्थित घरमै अचानक उनलाई मस्तिष्कघात भएका उनको अहिले अन्नपूर्ण न्युरो अस्पतालमा आइसीयूमा उपचार भइरहेको छ । । अचानक बिरामी परेका ८० वर्षीय वल्लभलाई अस्पताल भर्ना गरिएको हो ।
मस्तिष्क घातका कारण उनको शरीरको देब्रे पाटो नचल्ने भएको गीतकार राजेन्द्र थापाले जनाएका छन् । एकल जीवन बिताइरहेका वल्लभलाई बिरामी भएको ७ घण्टापछि मात्र अस्पताल लगिएको थियो । केही दिनअघि अस्पतालबाट घर लगिए पनि निमोनिया भएपछि पुनः अस्पताल भर्ना गरिएको छ । गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापाका अनुसार अहिले वल्लभको आईसीयुमा उपचार भइरहेको छ । उनले, ‘उहाँको अवस्था एकदमै गम्भीर छ ।’
लामो समय रेडियो नेपालका जागिरे वल्लभका दुई छोरी छन् । दुवैले विवाह गरिसकेका छन् । उनकी श्रीमतीको दुई वर्षअघि क्यान्सरका कारण मृत्यु भएको थियो । अहिले उनको उपचारका लागि गीतकार संघले सहयोग रकम उठाइरहेको छ । उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर वल्लभका सहोदर भाइ हुन् । तारादेवीले गाएको ‘शुभकामना’, अरूणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ जस्ता चर्चित गीतहरू वल्लभले नै लेखेका हुन् ।