एनपीएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान {तस्वीरहरु}

‘खेलको विकासले देश विकासको स्तर पनि मापन गर्छ’


२०८१ पौष ७ आइतबार १६:५८ बजे
तस्वीरहरु : आशिष पौडेल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टिमका क्याप्टेन र खेलाडीका साथै नेपाल क्रिकेट सङ्घ र खेलका व्यवस्थापकलाई बधाइ दिएका हुन् । 

शनिबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलामा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई विजय हासिल गरेको थियो । प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठूला सफलता हासिल गर्न शुभकामना दिँदै विश्वमा ख्यातिप्राप्त ब्याट्सम्यान पनि नेपाली हुन सक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न आग्रह गरे ।

‘यो हामी सबैको जित हो । नेपालीको जित हो । एनपीएलको जित हो । यस खेलमा तपाईहरुको असाधारण क्षमता देखिएको छ । दोस्रो हुने सुदूरपश्चिम पनि कमजोर थिएन । कठोर चुनौतीको सामना गरेर विजय हासिल गर्ने जनकपुर बोल्ट्स्का खेलाडीहरु बधाईका पात्र हुनुहुन्छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईहरु हिरो हो । नायक र महानायक हो । म तपार्ईहरुको प्रशंसा गर्दछु । खेलको विकासले देश विकासको स्तर पनि मापन गर्छ, आगामी दिनमा अझ ठूला सफलता हासिलका लागि म शुभकामना दिन्छु ।’

आफूले प्रधानमन्त्री बहालीपछि हुँदा कीर्तिपुर क्रिकेट मैदानको स्तरतोन्नतिको पहिलो निर्णयमा गरिएको र निर्माणका लागि बोलपत्र आव्हान गरिएको सुनाउँदै उनले नेपालमा सरकार र आफ्नो तर्फबाट खेल क्षेत्रको विकासका लागि गर्नुपर्ने प्रयास निरन्तर हुने अवगत गराए । विदेशी खेलाडी नेपाल आउँदा र नेपालको खेल क्षेत्रमा विदेशको लगानी वा सहयोग ल्याउन झञ्झटिलो प्रक्रिया भएको क्रिकेट सङ्घ र खेल व्यवस्थापकका गुनासो सुनेपछि प्रधानमन्त्री ओलीले त्यस्तो खालको अवस्था हुन नहुने र सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए ।

सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेकामा धन्यवाद दिँदै विदेशका ठूला खेलाडीलाई श्रम स्वीकृतिमा झञ्झटिलो प्रक्रिया अन्त्य गराउन आग्रह गरेका थिए । उक्त टिमका क्याप्टेन आसिफ शेखले प्रधानमन्त्री ओलीसँग भेटेर बधाई र सम्मान पाउँदा आफूहरुलाई खुशी लागेको प्रतिक्रिया दिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७