महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : राज्यले हाम्रो दुःख बुझेन


२०८१ पौष ७ आइतबार १७:०२ बजे

दाङ । दाङको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहेकी छन् । लामो समयदेखि स्वयंसेविकाको काम गरे पनि राज्यले दुःख बुझ्न नसकेको उनको गुनासो छ । ‘स्वयंसेविकाका रूपमा काम गर्दा राज्यले हाम्रो मूल्याङ्कन गर्न सकेन’, उनले भनिन् । आफ्नै खर्चमा गाउँ–गाउँ पुग्ने गरेको उनी बताउँछिन् । 

घोराही–१२ निवासी इमाकुमारी शर्माले पनि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्दा खाजा खर्च समेत नपाएको गुनासो गरिन् । ‘हामीले दुःख मात्र गरेका छाै‌, श्रमको उचित मूल्य पाउन सकेका छैनौं’, उनले भनिन् । सुविधाका नाममा बैठक भत्ता रु चार सय ५०, वार्षिक पोशाक भत्ता रु १० हजार,  खोप लगाउँदा तथा औषधि खुवाउँदा दैनिक रु चार सय र त्यसभन्दा अरू प्राप्त गर्न नसकेको उनले बताइन् ।

घोराही–१९ निवासी निर्मला पुनले भौगोलिक रूपमा विकट सैघामा काम गर्दा धेरै समस्या भोग्नुपरेको बताइन् । ‘घण्टौं हिँडेर घरघरमा पुग्नुपर्छ तर राज्यको तर्फबाट कुनै सहयोग पाउन सकेका छैनौं’, उनले भनिन्, ‘वर्षौदेखि गरेको कामका आधारमा सरकारले सेवा सुविधा दिन आवश्यक छ ।’ घोराही–३ निवासी जुनकुमारी रोकामगरले सञ्चारको सहज पहुँच नहुँदा काम गर्न समस्या भएको बताइन् । घोराही उपमहानगरपालिका–९ निवासी शान्ता केसी २०४५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविका रूपमा काम गर्दै आएकी छन् ।

उनले ३६ वर्षदेखि निःशुल्क काम गर्दै आएको बताइन् । यत्तिका वर्षसम्म काम गर्दा पनि राज्यले सहयोग नगरेको उनले बताइन् । गाउँगाउँमा स्वास्थ्यका सूचक सङ्कलन तथा स्वास्थ्य सचेतनाको काममा सरकारले खटाउने गरे पनि सेवा सुविधा दिन कन्जुस्याइँ गरेको उनको गुनासो छ । उनी भन्छिन्, ‘हाम्रो श्रमको मूल्याङ्कन राज्यले गरेन ।’ केही दिनअघि यहाँ महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि आयोजित एक अभिमूखीकरण कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७