छात्रवृत्ति रकम हिनामिना : तत्कालीन प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा


००:४७ बजे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शंकर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक दिलीपकुमार गुप्तासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । छात्रवृत्ति रकम र पाठ्यपुस्तक खरिदमा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

सहायक प्रवक्ता थपलियाका अनुसार उनीहरूले आर्थिक वर्ष २०७१ / ०७२ मा विद्यालयको शौचालय निर्माणका लागि निकासा भएको पहिलो किस्ता अनियमितता गरेको पाइएको छ । यस्तै, विद्यार्थीहरूको नाममा आएको विभिन्न आर्थिक वर्षहरूको छात्रवृत्ति रकम नबाँडेको, आव २०७३÷०७४ मा निकासा भएको पीसीएफ अनुदानको रकम समेत शिक्षक नराखी हिनामिना गरेको, पाठ्यपुस्तक खरिदमा समेत अनियमितता गरी विगत ५ वर्षदेखि विद्यालयको आय र व्यय सार्वजनिक नगरी विद्यालय कोषको रकम हिनामिना गरेको आरोप उनीहरूमाथि छ ।

गुप्ताले प्रअ रहँदा विद्यालयको शौचालय निर्माणमा ६२ हजार ५८३ रुपैयाँ, छात्रवृत्तिको ३ लाख १० हजार ४ सय रुपैयाँ, पाठ्यपुस्तकको १ लाख २६ हजार २४७ रुपैयाँ र पीसीएफ शिक्षकको तलब भत्ता १ लाख ५० हजार ६८६ रुपैयाँ निकासा लिई मनोमानी ढंगले खर्च गरेको आयोगको दाबी छ ।

आयोगले उनीविरुद्ध ६ लाख ४९ हजार ९ सय १६ रुपैयाँ बिगो कायम गरी जरिवाना मागदाबी गरेको छ । यस्तै, आयोगले प्रअसँग मिलेमतो गरेको आरोपमा विद्यालयका मुखिया श्रवणकुमार चौधरी र शिक्षक हृदयराम चौधरीलाई पनि प्रतिवादी बनाएको छ । श्रवणकुमारविरुद्ध ५ लाख ८७ हजार ३ सय ३३ र हृदयरामविरुद्ध ६२ हजार ५ सय ८३ रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरिवानाको मागदाबी गरिएको आयोगले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७