ओलीसँगको भेटपछि तस्वीर राख्दै मोदीले लेखे–नेपाल–भारत मित्रता धेरै बलियो छ


२०८१ असोज ७ सोमबार १३:१३ बजे

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन पुगेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र क्वाडको बैठकमा सहभागी हुनका लागि न्ययोर्कमा रहेका भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कको लोट्टे प्यालेस होटलमा भेटवार्ता भएको छ ।

स्थानीय समयानुसार आइतबार साँझ साढे पाँच बजे भएको भेटका अवसरमा नेपाल–भारत आपसी चासो र हितका विषयमा कुराकानी भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन् । यद्यपि, उक्त बैठकमा ओलीले भारत भ्रमणको निम्ता भने पाउन सकेनन् । यसअघिका प्रधानमन्त्रीलाई भारतले नियुक्त हुने वित्तिकै भारत भ्रमणको निम्ता दिने गरे पनि ओलीलाई भने मोदीले भारत भ्रमणको निम्ता दिएका छैनन् ।

एक्समा मोदीले लेखेका छन्, ‘प्रधानमन्त्री केपी ओलीसँग न्युयोर्कमा निकै राम्रो भेट भयो । भारत–नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ प्रगाढ बनाएर अघि लैजान चाहन्छौं । हाम्रो संवाद ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दाहरूमा केन्द्रित थियो ।’ उनले ओलीसँगको भेटका तस्बिर साझा गर्दै लेखेका छन् ।

फेसबुकमा निकै सक्रिय रहने गरेका केपी शर्मा ओलीले मोदीसँगको भेटका बारेमा केही उल्लेख गरेका छैनन् । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन गएका ओली न्युयोर्कमा रहेको अवसरमा मोदीसँग निकै प्रयासपछि होटलमा साइडलाइन वार्ता भएको थियो । नेपाली पक्षको लामो प्रयास र गृहकार्यपछि प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटको वातावरण बनेको नेपाली प्रतिनिधिमण्डलले जानकारी दिएका छन् । तर अपेक्षित रुपमा सफल भने यो भेट मानिएन् । भेटमा दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीहरू थिए ।

भेटका लागि नेपाली पक्षबाट धेरै अघिदेखि गृहकार्य भएको थियो । भारतीय पक्षबाट शुक्रबार सकारात्मक सन्देश पाएपछि भेटको वातावरण बनेको थियो । ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्रीसँग पहिलो पटक भेट भएको हो । यसअघि थाइल्याण्डमा तय भएको बिमस्टेक बैठकमा ओली र मोदीबीच भेटवार्ता हुने भनिए पनि बैठक नै स्थगित भएको थियो ।

लगत्तै भारत भ्रमणमा रहेका बेला परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन् । प्रधानमन्त्री ओलीको भारतसँग सम्बन्ध तिक्त रहेको चर्चाकाबीच भएको भेटवार्तालाई अर्थपूर्ण मानिए पनि खासै सकरात्मक भने हुन नसकेको बताइएको छ ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७