खाता रोक्का र फुकुवामा राष्ट्र बैंकले ल्याएको विनियमावली, के–के छन् प्रावधान ?


२०८१ भदौ ३० आइतबार ०६:५१ बजे

काठमाडौं । नेपाल राष्ट्र बैंकले खाता रोक्का र फुकुवासम्बन्धी विनियमावली–२०८१ ल्याएको छ । बैंक तथा वित्तीय संस्थामा खोलिएको खाता रोक्का राख्ने र फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन भन्दै राष्ट्र बैंकले विनियमावली ल्याएको हो ।

राष्ट्र बैंकले विनियमावली असोज १ गतेदेखि लागू गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थामा रहेको खाता रोक्का गर्नका लागि अधिकारप्राप्त अधिकारीले सम्पूर्ण व्यहोरा खुलाई राष्ट्र बैंकसमक्ष लिखित रूपमा अनुरोध गर्नुपर्नेछ । राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थालाई खाता रोक्का गर्न निर्देशन दिने विनियमावलीमा उल्लेख छ ।

राष्ट्र बैंकले प्राकृतिक व्यक्ति, कानुनी व्यक्ति, कुनै निश्चित खाता मात्र रोक्का राख्नुपर्ने र आंशिक खाता रोक्का राख्नुपर्नेहरुका हकमा फरक व्यवस्था गरेको छ । विनियमावलीमा प्राकृतिक व्यक्तिका हकमा खाता रोक्का गर्नुको स्पष्ट कारण, खातावालाको नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र वा नेपाल सरकारले जारी गरेको निजको स्पष्ट परिचय खुल्ने आधिकारिक विवरण तथा निजको तीनपुस्ते विवरणका आधारमा खाता रोक्का गर्न सक्ने भनेको छ ।

त्यस्तै कानुनी व्यक्तिका हकमा खाता रोक्का गर्नुको स्पष्ट कारण, फर्म, कम्पनी तथा संस्थाको खाता रोक्का गर्नुपर्दा खातावालको आधिकारिक नाम, ठेगाना, दर्ता नम्बर र स्थायी लेखा नम्बर सहितको विवरण पेस गर्नुपर्ने उल्लेख छ ।
कुनै निश्चित खाता मात्र रोक्का राख्नुपर्ने अवस्थामा रोक्का राख्नुपर्ने खाता नम्बर र खातामा रहेको बैंक विवरण तथा आंशिक खाता रोक्का राख्नुपर्ने भएमा रोक्का राख्नुपर्ने खाता नम्बर, रोक्का राख्नुपर्ने रकम र खाता रहेको बैंकको विवरण पेस गर्नुपर्नेछ ।

अधिकार प्राप्त अधिकारीबाहेकका अन्य व्यक्तिबाट आएका पत्रका आधारमा राष्ट्र बैंकले खाता रोक्कासम्बन्धी प्रक्रिया अघि बढाउने छैन । कुनै कसुरको अनुसन्धानका सिलसिलामा अधिकारप्राप्त अधिकारीले राष्ट्र बैंकसमक्ष खाता रोक्का वा फुकुवाका लागि अनुरोध गर्नुपर्नेछ ।

खाता रोक्का राख्न अनुरोध गर्ने निकायको अधिकारप्राप्त अधिकारीको अनुरोधमा फुकुवा हुनेछ । फुकुवाको निर्देशन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिनेछ । तर, रोक्का रहेको खाता अदालतको आदेश बमोजिम फुकुवा गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन अनिवार्य हुने छैन ।

कुनै कर्मचारीसँग सम्बन्धित विषयका कारण सम्बन्धित संस्थाको सम्पूर्ण खाता रोक्का गर्ने गरी अनुरोध गर्नुपर्ने भएमा खाता रोक्का गर्नुअघि निश्चित वा आंशिक खाता रोक्का गर्न मिल्ने÷नमिल्ने यकिन गरी सम्पूर्ण खाता रोक्का गर्दा संस्थाको व्यावसायिक निरन्तरतामा पर्ने प्रभाव, अन्य कर्मचारी तथा सरोकारवालालाई पर्ने प्रभाव र सम्बन्धित संस्थाका कर्मचारीप्रतिको दायित्व रकम समेत खुलाई विवरण पेस गर्नुपर्नेछ ।

राष्ट्र बैंकले निश्चित वा आंशिक खाता रोक्का राख्न उपयुक्त देखेमा कर्मचारीप्रतिको दायित्व बराबरको रकम रोक्का राख्ने गरी इजाजतपत्रप्राप्त संस्थाहरूलाई निश्चित वा आंशिक खाता रोक्का राख्न निर्देशन दिन सक्नेछ । इजाजतपत्रप्राप्त संस्थाहरूको खाता रोक्का हुने छैन । भुक्तानी सेवा प्रदायक संस्थाको सेटलमेन्ट प्रयोजनका लागि इजाजतपत्रप्राप्त संस्थामा रहेको खाता रोक्का नहुने विनियमावलीमा उल्लेख छ ।

तर अल्पकालीन वा दीर्घकालीनरूपमा संस्था सञ्चालनमा नरही बन्द हुने अवस्था आएमा वा राष्ट्र बैंकले कारबाही गरी खाता रोक्का गर्नुपर्ने अवस्था देखिएमा वा अनुसन्धान गर्ने अधिकारीले कारणसहित राष्ट्र बैंकसमक्ष अनुरोध गरेको अवस्थामा खाता रोक्का गर्न बाधा पुग्ने छैन । खाता रोक्का वा फुकुवा गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुनेछ । विभागका कार्यकारी निर्देशकले तोकेको अधिकारप्राप्त अधिकृतस्तरका कर्मचारीले निर्देशन दिन सक्ने छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७