भोटेकोशीमा खसेको गाडी डुबेको अवस्थामा देखियो, निकाल्ने प्रयास हुँदै


२०८१ भदौ २८ शुक्रबार १६:११ बजे

सिन्धुपाल्चोक । भोटेकोशी नदीमा खसेको गाडी आधा डुबेको अवस्थामा फेला परेको छ । उत्तरी नाका तातोपानी जोड्ने बाह्रबिसे–तातोपानी सडक खण्डमा छ्याक्सामुनि भोटेकोशी नदीमा क्षतिग्रस्त बोलेरो भेटिएको हो । भोटेकोशी नदीमा आधा डुबेको अवस्थामा बोलेरोको दुई वटा टायर देखिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ । 

स्थानीयबाट त्यो खबर पाएलगत्तै सुरक्षाकर्मी र जनप्रतिनिधि घटनास्थलमा पुगेका छन् । बोर्डरल्याण्ड रिसोर्ट नजिक भोटेकोसी छ्याक्सामा ५० मिटर तल खसेको ध्वस्त बोलेरो भेटिए पनि घटनाबारे यथार्थ विवरण खुलिनसकेको जिल्ला प्रहरी प्रमुख नायव उपरीक्षक निरञ्जन भट्टराईले बताएका छन् ।

कसरी दुर्घटना भयो, यति नम्बरको बोलेरो, यति जना भन्ने केही कुरा खुलिनसकेको उनले जानकारी दिए । ‘भोटेकोशीमा सवारी पुरै डुबेको छ, दुई वटा टायर मात्रै देखिएको छ, नम्बर प्लेट प्रष्ट देखिएको छैन, बोलेरो निकालिएपछि मात्रै के हो भन्न सकिन्छ,’ उनले भने ।

स्थानीयसँगको सोधपुछका आधारमा बोलेरो बिहीबार बेलुका नै सडकबाट नदीमा खसेर दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । अहिले सशस्त्र प्रहरी बल, नेपाली सेनाको उद्वारको टिम बोलेरो निकाल्न खटिएका छन् । बाह्रबिसे नगरपालिकाकी उपमेयर मञ्जु तामाङले मध्य भोटेकोशीबाट एउटा क्रेन मगाएर नदीमा देखिएको बोलेरो बाहिर निकाल्ने प्रयास भइरहेको जानकारी दिइन् । शुक्रबार दिउँसोबाट नदीछेउ फसेको बोलेरो निकाल्न प्रयास भइरहेको भएपनि धेरै तल भएकोले गाह्रो भइरहेको छ । चार पटक प्रयास गर्दा पनि नदीको वहाव बढी भएकाले गाडी निकाल्न नसकिरहेको उनले बताएकी छन् ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७