राष्ट्रिसभा अध्यक्ष दाहालको आरोप : सरकारले जनतालाई दूषित पानी खुवाएको छ


२०८१ माघ २ बुधबार १९:१९ बजे

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारले अधिकांश नागरिकलाई दुषित पानी खुवाउँदै आएको आरोप लगाएका छन् । आज (बुधबार) सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले सरकारले खानेपानी वितरणमा मात्र जोड दिएको तर त्यसको गुणस्तरमा ध्यान नपुर्‍याएको टिप्पणी गरेका छन् ।

‘हामीले ९० प्रतिशत जनसंख्यालाई पानी पुर्‍यायौं भनिरहेका छौं, तर तीमध्ये करिब ८० प्रतिशत नागरिकलाई दुषित पानी खुवाइएको छ । यो त जिउँदै मार्ने जस्तै हो,’  उनले भने । शिक्षा क्षेत्रमा सरकारको कार्यप्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष दाहालले दिवा खाजाको प्रलोभन देखाएर विद्यार्थी भर्ना गर्नेतर्फ मात्रै ध्यान दिइएको तर शिक्षाको गुणस्तर सुधारमा प्रयास नगरेको टिप्पणी गरे । ‘विद्यालयमा विद्यार्थी संख्या देखाएर तथ्यांकमा राम्रो देखिने प्रयास गरिन्छ, तर गुणस्तरमा सुधार देखिंदैन। प्रारम्भमा १०–१५ लाख विद्यार्थी भर्ना हुने तर माध्यामिक तहमा पुग्दा संख्या घटेर ५ लाखभन्दा कम हुने अवस्था छ,’  उनले भने ।

उनले तथ्याङ्कका लागि मात्रै गरिएको यस्तो प्रयासले दीर्घकालीन प्रतिफल नदिने स्पष्ट पार्दै, शिक्षा र खानेपानीको गुणस्तर सुधारमा गम्भीर कदम चाल्न सरकारलाई आग्रह गरे । अध्यक्ष दाहालले नेपाली जनताको समृद्धि मापन गर्ने सूचकको पुनर्विचार गर्नुपर्नेमा जोड दिए । ‘कति सडक, भवन वा उद्योग बने भन्ने मात्र पर्याप्त हुँदैन । नेपाली जनताको जीवनस्तरमा कति प्रगति भयो भन्ने नै मुख्य मापन हुनु जरुरी छ,’  उनले भने । सरकारले आधारभूत सेवा र जनताप्रतिको उत्तरदायित्वमा गुणस्तरीय सुधार गर्न नसके दिगो विकासको लक्ष्य प्राप्त गर्न कठिन हुने उनको निष्कर्ष थियो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७